निकेश र राजेन्द्रको जोडी प्रथम

विश्व टेबल टेनिस दिवसको उपलक्षमा नेपाल भेट्रान टेबल टेनिस संघले आयोजना गरेको खुला भेट्रान टेवल टेनिस प्रतियोगिताको भेट्रान्स डबल्समा निकेश प्रसाद जोशी र राजेन्द्र बज्राचार्यको जोडी प्रथम भएका छन् । ललितपुरका उनीहरुले सोही स्थानका सुमन शाक्य र निशान प्रधानको जोडीलाई पाखा लगाउन सफल भएका थिए । तेश्रो स्थानमा राष्ट्रिय वाणिज्य बैंकका अग्र विष्ट र सन्तोष चन्द्र राई तथा जयराम महर्जन र किरण व्यञ्जनकारको जोडी भए ।
महिला सिंगल्स तर्फ श्रीमती रिता शाह मुखर्जीले श्रीमती इन्दिरा पराजुलीलाई पराजित गर्दै स्वर्ण पाईन् । ५० बर्ष माथिको भेट्रान्स सिंगलमा नेपाल टेलिभिजनका मनोहरी थापाले स्वर्ण पाए । उनले काठमाण्डौका विनय बस्नेतलाई पराजित गरे । तेश्रो स्थानमा काठमाण्डौका सुदर्शन गौतम र बाणिज्य बैंकका अग्र विष्ट रहे । ४० बर्ष माथिको प्रतियोगितामा ललितपुरका राजेन्द्र बज्रचार्यले काठमाण्डौका रञ्जित लाल मल्ललाई पराजित गर्दै स्वर्ण प्राप्त गरे । ललितपुरका सुमन शाक्य र काठमाण्डौका जय राम महर्जन संयुक्त तेश्रो भए । विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेन्डि शेर्पा, अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजबैद्य लगायतले पुरस्कार वितरण गरेको संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराए ।

Comment