सम्मानको पैसा असहायलाई खर्चदै कुशल

kushal2
अस्ट्रेलियामा केही समयअघि सुकोकाई ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा रजत जितेका कुशल श्रेष्ठले सम्मान बापत पाएको रकमको केही हिस्सा असहाय बालबालिकाका लागि खर्चेका छन् ।उनलाई नगदसहित शनिबारै न्यू शिवशक्ती विजनेश प्राइभेट लिमिटेडका निर्देशक भरत शंकर र जयलक्ष्मी गहनागृह चाबहिलका प्रोप्राइटर लभ बराइलीले सम्मान गरेका थिए । सम्मानवापत प्राप्त रकमबाट कुशलले ११ हजार रुपैयाँ ललितपुरको भैसेपाटीमा रहेको नवीकरण प्रतिष्ठान नेपालका बालबालिकाहरुका लागि खर्चिए ।
कुशलले ११ हजारबाट चामल, तेल, चिउरा, दालमोठ, बिस्कूट, अण्डालगायतका विभिन्न खाद्यान्न किनेर प्रतिष्ठानका अध्यक्ष विशाल टमाटामार्र्फत बालबालिकालाई हस्तान्तरण गरे ।
हस्तान्तरण कार्यक्रम बोल्दै १० औं दक्षिण एशियाली खेलकुदका स्वर्ण विजेता कुशलले असहाय बालबालिकालाई सबैखाले सहयोग गर्न तयार रहेको बताए ।‘म अहिलेसम्म खेलेरै बाँचेको छु । यि बालबालिका पनि खेलकुदबाटै आत्मनिर्भर बन्न सकून भन्ने मेरो चाहना हो । त्यसका लागि प्रशिक्षणसँगै उनीहरुलाई कराँते खेल्दा लाग्ने खर्च म आफै जुटाउनेछु ।’– कुशलले भने ।कुशलले चैत १५ गतेबाट यस नवीकरण प्रतिष्ठानका बालबालिकालाई प्रशिक्षण दिन सुरु गर्ने समेत बताएका छन् ।
कार्यक्रममा बोल्दै नवीकरण प्रतिष्ठान नेपालका अध्यक्ष विशाल टमाटाले कुशल श्रेष्ठ राम्रो खेलाडी मात्रै नभएर असल व्यक्तित्व समेत रहेको बताए ।‘उहाँले गरेको काम एकदम राम्रो लाग्यो । यस्ता मान्छे अझै नेपालमा धेरै भइदिए राम्रो हुन्थ्यो । उहाँले पहिलो चोटी यस्तो राम्रो काम गर्नुभयो । आजको दिन बच्चाहरु निकै खुसी भए । उनीहरुमा उत्साह छ ।’– टमाटाले भने ।
ललितपुर भैसेपाटीमा रहेको नवीकरण प्रतिष्ठान नेपालले विकट जिल्लाका २० असहाय बालबालिकालाई आश्रय दिदैँ आएको छ ।

Comment