आर्मीलाई हराउदै हेटौडा फाईनलमा

bijaya memorial2
सिमरा
साविक बिजेता त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा स्तब्ध पार्दै विजय युथ क्लब हेटौडा सिमरामा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशीको रुस्लान सातौं सिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।सिमरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीबिरुद्ध सडन डेथमा नतिजा निकाल्दै हेटौडा अन्तिम दुईमा प्रवेश गरेको हो ।प्रतिस्पर्धात्मक खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयमा पनि नजिता आउन नसकेपछि खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा समेत ५–५ को बराबरी भएपछि खेल सडन डेथमा पुगेको हो ।
सडन डेथमा आर्मीका सन्तोष तामाङको प्रहार पोष्टमा ठोक्किदा हेडौडाका सुनिल बिकले गोल गर्दै टिमलाई जित दिलाएका थिए । यसअघि टाईब्रेकरमा आर्मीका जितेन्द्र कार्की, भरत खवास, रजिन धिमाल, दिपक गुरुङ र गोलरक्षक बिकेश कुथुले गोल गरेका थिए । हेटौडाका लागि सुनिल बल, सन्जय राज बाहक, भुपाल गुरुङ, रवि भण्डारी र बिश्व अधिकारीले गोल गरेका थिए ।
खेलको सुरुवातमै खेलमा अग्रता लिएपनि आर्मी अन्तिम समयमा सम्हालिन नसक्दा हेटौडाले बराबरी गोल फर्काएको थियो । खेलको १० औ मिनेटमा आर्मीले पेनाल्टीमार्फत अग्रता लिएको थियो । हेटौडाका मनोज बिष्टले टंक बस्नेतलाई लडाएपछि पाएको पेनाल्टीमा आर्मीका जितेन्द्र कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
आर्मीबिरुद्ध उत्कृष्ट प्रदर्शन गरेको हेटौडाले थुप्र्रै अवसर बनाएपछि पहिलो हाफमा गोल फर्काउन सकेन् । आर्मीले पनि पहिलो हाफमा पाएको केही अवसर चुकाउन पुग्दा अग्रता बढाउन सकेन ।झण्डै चार हजारको संख्यामा दर्शक उपस्थित भएको सिमरा रंगशालामा आर्मी र हेटौडाबिचको दोस्रो हाफ पनि प्रतिस्पर्धात्क र रोमाञ्चक बन्न पुग्यो । आर्मीबिरुद्ध राम्रा अवसर सिर्जना गरेको हेटौडाले खेलको ५८ औं मिनेटमा बराबरी गोल फर्र्काउने अवसर गुमायो । आर्मीका गोलरक्षक बिकेश कुथुलाई बिट गर्दै हेटौडाका रवि भण्डारीले प्रहार गरेको बल हिरण्य मगरले गोल लाईनबाट क्लियर गरेका थिए ।
खेलमा फर्कर्ने थुप्रै अवसर गुमाएको हेटौडाले खेलको ८७ औं मिनेटमा बराबरी गोल फर्कायो । आर्मीको रक्षापंक्तीलाई तोड्दै बिमल रानाले उत्कृष्ट गोल गर्दै टिमलाई खेलमा फर्काएका हुन् । हेटौडाबिरुद्ध दोस्रो हाफमा पाएको अवसर सदुपयोग गर्न आर्मीका भरत खवास, राजु तामाङ, रजिन धिमाल चुक्दा निर्धारित समय बराबरीमा सकिदै अतिरिक्त समयमा धकेलिएको हो ।
अतिरिक्त समयमा पनि दुबै टिमले अवसर गुमाउन पुग्दा खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा समेत नजिता नआएपछि सडन डेथमा आर्मीलाई हराउदै नवप्रवेशी हेटौडामा अन्तिम दुईमा पुग्यो ।
टिमको पराजयपछि आर्मीका प्रशिक्षक मेघराज केसीले खेलको सुरुवातमै अग्रता लिएपनि सम्हालिएर खेल्न नसक्दा पराजय भोग्नुपरेको बताए । खेलमा अग्रता बढाउने थुप्रै अवसर चुकाउन पुग्नुपनि टिमका लागि दुभाग्यपूर्ण भएको केसीको भनाई थियो ।
हेटौडाका प्रशिक्षक सुविन घिमिरेले टिमको प्रदर्शन तारिफयोग्य रहेको बताए । आर्मीजस्तो सशक्त टिमबिरुद्ध आफ्ना खेलाडीले देखाएको प्रदर्शनलाई आफूले निकै सम्मान गर्ने घिमिरेको भनाई थियो ।
प्रतियोगिता अन्र्तगत बिहिवार दोस्रो सेमिफाईनल खेल वीरगन्ज युनाईटेड क्लब र रुपन्देही ११ बिच खेल हुनेछ ।

Comment