आईओएफटीसीको २ लाख आर्थिक सहयोग

ioftce
अमेरिकाको पोर्टल्यान्डमा रहेको अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले बानेश्वरस्थित नयाँ नेपाल समाज केन्द्रलाई २ लाख आर्थिक सहयोग बुधबार प्रदान गरेको छ ।असाहय बालवालिकालाई संरक्षण दिदै आइरहेको केन्द्रमा रहेका ३५ तेक्वान्दो खेलाडीलाई खेल सामाग्रीको व्यवस्थापनका लागि ५० हजार रुपैयाँ प्रदान गरियो ।
त्यस्तै केन्द्रमा आश्रय लिइरहेका भूकम्प पीडित काभ्रेका भूपेन्द्र विष्ट तथा सिन्धुपाल्चोकका सुशीला तामाङ, अनिशा तामाङ, मनीषा तामाङ र आयशा तामाङको शिक्षा÷खानपानका लागि १ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ । सो खर्च १ वर्षका लागि हो ।
गत बैशाखको विनाशकारी भूकम्पका कारण पीडितको सहयोगार्थ आईओएफटीसीले आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले नेप्लिज रिबिल्ड अभियान थालेको थियो । उक्त अभियानबाट करिब ५० हजार अमेरिकी डलर संकलन भएको थियो । सो संकलित रकम मध्येबाट केन्द्रलाई आर्थिक सहयोग प्रदान गरिएको हो । नेप्लिज रिबिल्ड आईओएफटीसीकी महासचिव करेन ब्ल्याकलेज र प्रतियोगिता निर्देशक दिवाकर महर्जनको सक्रिएतामा गठन गरिएको थियो ।
रिबिल्डका नेपाल संयोजक रिकेन महर्जनले केन्द्रका अध्यक्ष कृष्णराज गुरुङलाई २ लाख रुपैयाँ बराबरको चेक केन्द्रमै गएर हस्तान्तरण गरेका थिए । रिबिल्डले यसअघि पनि विभिन्न स्थानमा आर्थिक सहयोग प्रदान गरेको महर्जनले जानकारी गराए । बाँकी रकम बराबरको सहयोग पनि क्रमैसंग हस्तान्तरण गर्ने बताइएको छ ।

Comment