ऐतीहासिक साख जोगाउने जिम्मेवारी सहितको नया राष्ट्रिय टोली

national teame

दोश्रो तथा अन्तिम दिन मंगलबार दस खेलाडी छनोट गर्दै भारतमा माघ–फागुनमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली बृत्तको सबैभन्दा महत्वपूर्ण खेल तेक्वान्दो छनोट प्रतियोगिता सम्पन्न भएको छ । दोश्रो दिन आ–आफ्नो तौलसमूहमा पहिलो भएका ८ पुरुष र २ महिला खेलाडी छनोट भए । नेपालका दुइ महत्वपूर्ण खेल मध्य कराते सागमा समाबेश नभएका कारण तेक्वान्दो टोलीका सामु साख जोगाउने थप जिम्मेवारी समेत थपीएको छ ।
सागमा तेक्वान्दोबाट ८ पुरुष र ५ महिला गरी १३ खेलाडी सहभागी हुने छन् । पहिलो दिन सोमबार ३ महिला खेलाडी छनोट भएका थिए । ६२ केजीमुनि राष्ट्रिय टिमकी आयशा शाक्या, ४९ केजीमुनि नेपाली सेनाकी यानकुमारी चौलागाईं र ४६ केजीमुनि नेपाल प्रहरी क्लबकी रेजिना कार्की छनोट भइसकेका छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको लुम्बिनी हलमा भएको छनोट प्रतियोगिताको पुरुष ८७ केजीमाथि सेनाका प्रेमबहादुर बुढाथोकी पहिलो भए । उनले फाइनलमा सेनामा आबद्ध राष्ट्रिय टिमका पूर्णसिंह गुरुङलाई ६–१ ले पराजित गरे । ६८ केजीमुनि मध्यमाञ्चलका मोहम्मद वेशले बाजी मारे । उनले फाइनलमा प्रहरीका जेम्स प्रधानलाई १८–९ ले हराए । ६३ केजीमुनि प्रहरीका वीरबहादुर महराले फाइनलमा मध्यमाञ्चलका अजय गुरुङको चुनौती समाप्त पार्दै शीर्ष स्थान हात पारे ।
पुरुषकै ५८ केजीमुनि पश्चिमाञ्चलका सुनील पौडेल, ५४ केजीमुनि एपीएफका चन्द्रबहादुर राना मगर, ७४ केजीमुनि प्रहरीका निश्चलमान श्रेष्ठ, ८० केजीमुनि सेनामा आबद्ध राष्ट्रिय टिमका सक्षम कार्की तथा ८७ केजीमुनि सेनामा आबद्ध राष्ट्रिय टिमका रामहरि महतले सागमा स्थान सुरक्षित गर्न सफल भए ।
निर्णायक भिडन्तमा सुनीलले प्रहरीका रञ्जन श्रेष्ठ, चन्द्रले मध्यमाञ्चलका शेखर उप्रेती, निश्चलले एपीएफका भरत बोहरा, सक्षमले प्रहरीका अनुज पुजारी तथा रामले प्रहरीका दुर्गा थापालाई निराश पारे ।
महिलाको ५७ केजीमुनि सेनामा आबद्ध राष्ट्रिय टिमकी ज्ञानी चुनारा पहिलो भइन् । ज्ञानीले रेणु लामाको यात्रा १५–२ ले पूर्णविराम लगाइन् । ५३ केजीमुनि प्रहरीकी निमा गुरुङले शीर्ष स्थान कब्जा गरिन् । निमाले फाइनलमा सेनाकी नम्रता तुलाधरलाई १९–११ ले पन्छाइन् ।
खेलाडीको बन्द प्रशिक्षण बुधबारदेखि सुरु हुने नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं छनोट समितिका संयोजक टेकराज जोशी (प्रदीप) ले जनाएका छन् । दुईदिने छनोटमा ७२ पुरुष र ४५ महिला गरी १ सय १७ खेलाडीले विभिन्न १३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Comment