आयशा, यानकुमारी र रेजिना छनोट

भारतमा माघ–फागुनमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोका लागि ३ महिला खेलाडी सोमबार छनोट भएका छन् । आ–आफ्नो तौलसमूमा पहिलो भएका खेलाडी सागका लागि छनोट भएका हुन् । त्यसमा समान १–१ राष्ट्रिय टिम, नेपाली सेना र नेपाल प्रहरी क्लबका खेलाडी परेका छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको लुम्बिनी हलमा भएको छनोट प्रतियोगिताको ६२ केजीमुनि १० औं सागकी रजत तथा ११ औं सागकी स्वर्ण विजेता राष्ट्रिय टिमकी आयशा शाक्य पहिलो भइन् । आयशाले फाइनलमा सशस्त्री प्रहरी बलको एपीएफ क्लबकी संगीता बस्याललाई ८–१ ले पराजित गर्दै लगातार तेश्रो पटक सागमा सहभागिता पक्का गरिन् ।४९ केजीमुनि नेपाली सेनाकी यानकुमारी चौलागाईंले शीर्ष स्थानमाथि कब्जा जमाइन् । निर्णायक भिडन्तमा यानकुमारीले प्रहरीकी सीता तामाङलाई हराइन् । ११ औं सागकी कांस्य विजेता यानकुमारी ११–२ ले विजयी भइन् । १२ औं साग पनि यानकुमारीका लागि तेश्रो सहभागिता हुने थियो । १० औं सागका लागि छनोट भएपनि जण्डिसका कारण यानकुमारी सहभागी हुन पाएकी थिइनन् ।
४६ केजीमुनि प्रहरीकी रेजिना कार्की छनोट भइन् । सागमा ‘डेब्यु’ गर्न लागेकी रेजिनाले पश्चिमाञ्चलकी सरिता श्रेष्ठलाई १–० को झीनो अन्तरले पाखा लगाइन् ।
महिलाकै ५७ केजीमुनि राष्ट्रिय टिमकी ज्ञानी चुनारा र मध्यमाञ्चलकी रेणु लामा तथा ५३ केजीमुनि प्रहरीकी निमा गुरुङ र सेनाकी नम्रता तुलाधर फाइनलमा पुगेका छन् ।selectted 11पुरुषको ५४ केजीमुनि पश्चिमाञ्चलका प्रेम राणा, मध्यमाञ्चलका शेखर उप्रेती, सुदूरपश्चिमाञ्चलका नरेश चौधरी र एपीएफका चन्द्रबहादुर राना मगर सेमिफाइनलमा प्रवेश गरेका छन् । ५८ केजीमा प्रहरीका रञ्जन श्रेष्ठ, सेनाका नौबालक चौधरी, पश्चिमाञ्चलका सुनील पौडेल र मध्यपश्चिमाञ्चलका मनमोहन भट्टराई अन्तिम चारमा पुगे । ६३ केजीमुनि प्रहरीका वीरबहादुर महरा, सुदूरपश्चिमाञ्चलका निरज देउवा, पश्चिमाञ्चलका किरणबहादुर आले र मध्यमाञ्चलका अजय गुरुङले सेमिफाइनल यात्रा तय गरे । ६८ केजीमा पूर्वाञ्चलका पदम तामाङ, मध्यमाञ्चलका मोहम्मद वेश, एपीएफका अनिल मोक्तान र प्रहरीका जेम्स प्रधान सेमिफाइनलमा पुगे ।
पुरुषकै ७४ केजीमुनि प्रहरीका निश्चलमान श्रेष्ठ, राष्ट्रिय टिमका रामदत्त भट्ट, पूर्वाञ्चलका प्रवीण श्रेष्ठ र एपीएफका भरत बोहरा सेमिफाइनलमा पुगे । ८० केजीमुनि प्रहरीका अनोज पुजारी, सुदूरपश्चिमाञ्चलका निराजन खड्का, मध्यमाञ्चलका जयप्रकाश खत्खनेन् र राष्ट्रिय टिमका सक्षम कार्की सेमिफाइनलमा पुग्न सफल रहे । ८७ केजीमुनि प्रहरीका दुर्गा थापा, मध्यमाञ्चलका अनिश महर्जन, पूर्वाञ्चलका विपिन कार्की र राष्ट्रिय टिमका रामहरि महत सेमिफाइनलमा प्रवेश गरे ।
सागमा तेक्वान्दोबाट ८ पुरुष र ५ महिला गरी १३ खेलाडी सहभागी हुने छन् । ७२ पुरुष र ४५ महिला गरी १ सय १७ खेलाडी छनोटमा सहभागी छन् । अन्तिम दिन मंगलबार ८ पुरुष र २ महिला गरी १० खेलाडीको टुंगो लाग्ने छ ।
सागमा तेक्वान्दो नेपालमै भएको ८ औं संस्करणदेखि समावेश भएको थियो । अन्य पदक बाहेक तेक्वान्दोले सागमा नेपाललाई २४ स्वर्ण दिलाइसकेको छ । ८ औंमा सर्वाधिक १४ स्वर्ण जितेको थियो भने ९ औंमा ६ स्वर्ण प्राप्त गरेको थियो । त्यस्तै १० र ११ औंमा २–२ स्वर्ण हात पारेको थियो ।

Comment