पारा तेक्वान्दो पदक विजेता सम्मानित

para taekeनेपाल तेक्वान्दो संघले विभिन्न अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई बुधबार सम्मान गरेको छ ।
ताइवानमा अप्रिलमा भएको प्रथम एसियाली पारा तेक्वान्दोका कांस्य विजेता अरुण शाक्य तथा रुसमा सेप्टेम्बरमा भएको अन्तर्राष्ट्रिय व्हीलचेयर एन्ड एम्पुटिज गेम्स (आईवास) का कांस्य विजेता सीता भण्डारी र रञ्जना धामीलाई नगदसहित सम्मान गरियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले उनीहरुलाई सम्मान पत्र, नगद १०–१० हजार र तेक्वान्दो पोशाक प्रदान गरी सम्मान गरे ।
सोही अवसरमा टर्कीमा सेप्टेम्बरमा भएको छैटौं डब्लुटीएफ विश्व पारा तेक्वान्दोमा सहभागी खेलाडी सीता भण्डारी, अनिता थापा र चिन्ताबहादुर कुँवर, टिम प्रशिक्षक कल्याण कुँवर र व्यवस्थापक रवि थापा पनि सम्मानित भए । ताइवानको प्रतियोगितामा सहभागी खेलाडी हीरामणि अधिकारी, प्रशिक्षक यादव कुँवर र व्यवस्थापक कासिम मिया तथा रुसको प्रतियोगितमा सहभागी खेलाडी अनित थापा र चिन्ताबहादुर कुँवर, प्रशिक्षक मीनबहादुर थापा र व्यवस्थापक कासिम मियालाई पनि सम्मान गरिएको थियो ।
सम्मानपछि सदस्य–सचिव विष्टले तेक्वान्दोको विगतको शाखलाई जोगाउन दुई तेक्वान्दो एक हुनु पर्नेमा जोड दिए ।
त्यसै अवसरमा सीता, हीरामणि, रञ्जना, अनित र चिन्तालाई कुकिवानबाट प्राप्त पहिलो डानको प्रमाण पत्र प्रदान गरिएको थियो ।

Comment