गोजुकाइ टोली इन्डोनेसिया जाँदै

gojukaie
छैटौं एसियाली प्यासिफिक गोजुकाइ करातेमा सहभागी हुन ५ सदस्यीय नेपाल टोली बुधबार इन्डोनेसियाको जाकार्ता जाने भएको छ । मंसिर ९ गतेदेखि १६ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट एक महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछिन् । कुमितेको ५५ केजी तौलसमूहमा शान्ति लामाले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् ।
टोली नेतामा नेपाल गोजुकाइ कराते डो संघका उपाध्यक्ष जनार्दन उप्रेती, व्यवस्थापकमा अर्का उपाध्यक्ष अशोककुमार पाण्डे तथा प्रशिक्षकमा अच्युतराज उप्रेती रहेका छन् । संघका महासचिव एवं सहायक प्रमुख प्रशिक्षक इन्द्रबहादुर शाही खड्गेले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । प्रतियोगितामा नेपाल, क्यानाडा, अस्ट्रेलिया, दक्षिण अफ्रिकासहित विभिन्न २७ राष्ट्रको सहभागिता रहने संघका अध्यक्ष ज्ञानेन्द्रकुमार श्रेष्ठले जनाएका छन् ।
चार वर्षको अन्तरालमा हुने प्रतियोगिताअन्तर्गत थाइल्यान्डको बैंककमा भएको पाँचौं संस्करणमा दिनेश परियारले नेपाललाई रजत दिलाएका थिए । टोलीलाई सफलताको शुभकामना दिदै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच मंगलबार बिदाइ गरे ।

Comment