आईओएफटीसीका लागि पाँच खेलाडी छनोट

maitri taeke
अमेरिकाको पोर्टल्यान्डमा हुने ११ औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) का लागि नेपालबाट ५ खेलाडी शनिबार छनोट भएका छन् । मैत्री तेक्वान्दो डोजाङ, सगरमाथा तेक्वान्दो डोजाङ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन   (युयुएनटीएफ), नेपालद्वारा संयुक्त आयोजित प्रथम राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको ग्रान्ड फिनालेमा पहिलो भएका ३ पुरुष र २ महिला गरी ५ खेलाडी सन् २०१६ को अक्टोबरमा हुने आईओएफटीसीका लागि छनोट भएका हुन् ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको पुरुष ८० केजीमुनि रोजिन सिंह, ७८ केजीमुनि प्रेमबहादुर नेपाली तथा ५८ केजीमुनि माधव तिमिल्सिना छनोट भए । ग्रान्ड फिनालेमा रोजिनले रोशन तामाङ, प्रेमले अशोक सारु मगर र माधवले राजेश चौधरीलाई पराजित गरे । त्यस्तै महिलाको ४९ केजीमा पार्वती मगर र ५७ केजीमा रञ्जना थापा छानिए । ग्रान्ड फिनालेमा पार्वतीले निशा दर्नाल र रञ्जनाले सोनी घलानलाई हराए ।
पुरुषमा माधव तिमिल्सिना र महिलामा रञ्जना थापा उत्कृष्ट खेलाडी चुनिदै समान १५–१५ हजार नगदबाट पुरस्कृत भए । बाबुराजा ब्यञ्जन्कार उत्कृष्ट प्रशिक्षक घोषित भए । उनले १० हजार रुपैया  पुरस्कार पाए । ग्रान्ड फिनालेको प्रत्येक तौलसमूहमा उपविजेता बनेका रोशन, अशोक, राजेश, निशा र सोनीले समान १०–१० हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, आईओएफटीसीकी महासचिव करेन व्ल्याकलेज, आयोजक समितिका संयोजक अष्टबहादुर महर्जन र सल्लाहकार राम अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले उद्घाटन गरेका थिए ।

Comment