ब्ल्याकलेज नेपालमा

aigo Digital Camera

अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) की महासचिव करेन ब्ल्यालेज अमेरिकाबाट शुक्रबार काठमाडौं आइपुगेकी छन् ।प्रथम राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप, ओमेरिकाको पोर्टल्यान्डमा अर्को वर्ष हुने ११ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप तथा गत बैशाखमा गएको विनाशकारी भूकम्पका पीडितलाई राहत वितरण गर्न करेन नेपाल आएको प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जानकारी गराए ।प्रथम राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा मंसिर ५ गते हुँदैछ । उक्त प्रतियोगिता पोर्टल्यान्डमा हुने प्रतियोगिताका लागि नेपाली खेलाडी छनोट गर्न आयोजना गर्न लागिएको हो । प्रतियोगिताबाट ३ पुरुष र २ महिला गरी ५ खेलाडी छनोट गरिने छ ।
राहत वितरण विशेषगरी भूकम्पका कारण आफ्ना अभिभावक गुमाएका बालवालिकालाई लक्षित रहेको महर्जनले जानकारी दिए । आईओएफटीसीअन्तर्गत नेप्लिज रिबिल्ड मार्फत भूकम्प पीडितलाई सहयोग गर्ने उद्देश्यले ५० हजार अमेरिकी डलर संकलन गरिएको बताइएको छ । करेन नेपाल आएको यो सातौं पटक हो ।
करेनलाई महर्जनसहित प्रथम राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप आयोजक समितिका संयोजक अष्टबहादुर महर्जन, तेक्वान्दो सहायक प्रशिक्षक नोर्बु लामा, मैत्री तेक्वान्दो डोजाङका खेलाडी, पदाधिकारीलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
शुक्रबारै सगरमाथा तेक्वान्दो डोजाङ, युकेका संस्थापक अध्यक्ष राष्ट्र राई पनि लन्डनबाट च्याम्पियनसिपको सिलसिलामा नेपाल आएका छन् ।

Comment