व्याकुल माइला गोल्डकप सोमबारदेखि

bayakul mahilaa1
राष्ट्रिय गान सर्जक व्याकुल माइलाको जन्मथलोमा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको गोल्डकपको पाँचौं संस्करण सोमबार सुरु हुँदै छ । व्याकुल माइला गोल्डकप नाम दिइएको यस फुटबल प्रतियोगिता ओखलढुंगाको थाक्ले–८, सोक्मटारस्थित दूधकोसी किनारमा ९ दिन सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् ।
‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नारासहित सञ्चालन हुँदै आएको यस फुटबल प्रतियोगिता ‘बहुआयामिक विकास अभियान’का रूपमा रहेको आयोजक बताउँछन् । आयोजक संस्था दुधकौशिका प्राविका प्रधानाध्यापक आश्राचन राईले यो गोल्डकपको मुख्य उद्देश्य खेलकुद लगायत विकास निर्माण र विविध पक्षबाट पिछडिएको यस ठाउँका प्रतिभालाई मौका प्रदान गर्नु, यस क्षेत्रको समग्र विकास कार्य सम्बन्धमा आवाज उठाउनु, राष्ट्रियगान रचनाकार जन्मिएको हिलेपानी सोक्मटार गाउँलाई चिनाउनु रहेको बताए । आयोजक संस्था हिलेपानी फुटबल क्लबका महासचिव पूर्णसिंह राईका अनुसार यसपटक ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली र ललितपुर जिल्लाका गरी १८ टिमको सहभागिता रहनेछ ।

गायक कुवेर राईको एकल साँझ
गोल्डकप मूल समारोह समितिका संयोजक क्षमाराज राईले सुगम संगीतका धरोहर गायक कुवेर राईले इलामबाट आएर सोक्माटारस्थित दूधकोसी किनारमा सांगीतिक प्रस्तुति दिने जानकारी दिए । बहुचर्चित ‘मायाले मूलबाटो भुलेछ नौरंगी सपना देखेर’ गीतका गायक राईको एकल प्रस्तुति रहने उनले बताए । गायक राईका ‘नेपाली हो राष्ट्रको गौरव बढाइदेऊ’, ‘अल्झिएकी शीतहरु पातपातमा’, ‘टाढा भए के भो मायालु’, ‘बिरानो यो आकाशमा चाँदी बादल देखेर’लगायत दर्जनौं गीत कर्णप्रिय तथा चर्चित छन् । कार्यक्रमको दौरान लोकनाचको प्रस्तुति पनि रहनेछ । विगतका वर्षहरूमा गोल्डकपकै क्रममा दुधकोसी नदीमा ¥याफ्टिङ एक्स्प्लोरेसन, कृषि तालिम, निःशुल्क स्वास्थ्य शिविर, सांस्कृतिक एवं सांगीतिक कार्यक्रम सम्पन्न हुने गरेको थियो । यसपटक स्थानीय विद्यालयहरूका १ हजार २ सय विद्यार्थीलाई काठमाडौंस्थित टिम नेपाल नामक संस्थाबाट शैक्षिक सामग्री र पुस्तक वितरण, एक्टिभ एकेडमी कलेज र युरेका इन्टरनेसनलका तर्पmबाट महादेवस्थान माविलाई २ थान सूक्ष्मदर्शक यन्त्र हस्तान्तरण गर्ने कार्यक्रमसमेत रहेको उनले बताए ।
यस वर्षको गोल्डकप ‘राष्ट्रिय एकता र सामाजिक सद्भावको विकासमा केन्द्रित हुने’ नयाँ नेपाल सरोकार समाजका अध्यक्ष रक्षामान राईले बताए । यो प्रतियोगिता नयाँ नेपाल सरोकार समाज, हिलेपानी फुटबल क्लब र दुधकौशिका प्राविको संयुक्त आयोजनामा सम्पन्न हुँदै आएको छ ।
नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको चौथौं संस्करणको उपाधि सुनकोसी युवा समूहले जितेको थियो । उपाधि विजेताले चाँदीको कपसहित नगद ५० हजार, दोस्रोले ३० हजारका साथ चाँदीकै कप र तेस्रोले २० हजारका साथ चाँदीको कप प्रदान गरिँदै आएको आयोजकले जनाएका छन् ।

Comment