नेपाललाई दुई कांस्य

kotokan11
सर्वियाको सुवोटिकामा सम्पन्न २३ औं एसकेडियुएन विश्व सोतोकान कराते च्याम्पियनसिप तथा आठौं एसकेडियुएन कोहाई विश्व कपमा नेपालका दुई खेलाडी विन्दान थापा मगर र रुपेश कुँवरले कांस्य पदक प्राप्त गर्न सफल भएका छन् ।
एसकेडियुएन सर्वियाको आयोजनामा भएको आठौं कोहाई (जुनियर) विश्व कपको १४–१५ वर्षको ब्वाईज क्याडेट ईभेन्ट अन्तरगत ५५ केजी मुनि तौलसमूहको व्यक्तिगत कुमुतेतर्फ विन्दान थापा मगरले वुल्गेरिया र रोमानियाका खेलाडीहरुलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएका थिए । उनी सेमिफाइनलमा सर्वियाका खेलाडीसंग अंकको आधारमा पराजित हुँदै कास्यमा चित्त बुझाउन बाध्य भए ।
सोही प्रतियोगिताको १२–१३ वर्ष उमेरको मिनि क्याडेट ईभेन्ट अन्तरगत ५५ केजी तौलसमूहको व्यक्तिगत कुमुतेमा रुपेश कुँवर पनि सर्वियाका खेलाडीसंग पराजित हुँदै काँस्य पदक प्राप्त गर्न सफल भए । उनले पनि रोमानिया र बुल्गेरियाका खेलाडीलाई पराजित गर्दै सेमिमा स्थान बनाएको प्रमुख प्रशिक्षक गोविन्द श्रेष्ठले सर्वियाबाट जानकारी गराए । प्रतियोगिता अक्टोबर ९ देखि ११ सम्म संचालन भएको थियो ।

Comment