मोरङले पुलिसलाई बराबरीमा रोक्यो

raj poudel1
मोरङ फुटबल क्लबले विभागीय नेपाल पुलिस क्लबलाई बराबरीमा रोकेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राष्ट्रिय लिग अनर्तगत मंगलबार भएको खेलमा मोरङले विभागीय पुलिसलाई १–१ गोलको बराबरीमा रोक्दै अंक बाँडेको हो ।
खेलमा पुलिसले पहिलो अग्रता लिएको थियो । ७७औँ मिनेटमा सुरेन खवासले डिफ्लेक्ट गरेको बलमा पुलिसका योगेश श्रेष्ठले डिएरिया नजिकैबाट मोरङका दोस्रो रोजाईका गोलरक्षक विष्णु चौधरीलाई विट गर्दै गोल गरेका  थिए । एक गोलले पछि परेपछि केही आक्रमक बनेको मोरङले खेलको इन्जुरी समयमा बराबरी गोल फर्कायो । मोरङका लागि निरज बस्नेतले इन्जुरी समयमा बराबरी गोल गरेका थिए । काउन्टर एट्याकमा मोरङले कर्नर बनाएको थियो । कर्नर बलमा राजकुमार पोडेलको फ्रि हेडमा अनमार्क रहेका निरज बस्नेतले आर्मीका तेस्रो रोजाईका गोलरक्षक विशाल श्रेष्ठलाई कुनै मौका नै नदिई गोल गरेका थिए ।
मोरङका प्रशिक्षक कुमार प्रधान बराबरीपछि टिमको प्रदर्शनबाट खुशी देखिए । ‘टिममा फुलसेटका खेलाडीहरु छैनन् । तरपनि, फुलसेटका खेलाडी नभएपनि पुलिसविरुद्व खेलाडीहरुले राम्रो प्रदर्शन गरे । यसबाट सन्तुष्ट छु ।’ प्रशिक्षक प्रधानले भने,‘अर्काे खेलको लागि नियमित गोलरक्षक र यु–१९ का खेलाडीहरु आउने बताए । यस्तै बरारीपछि पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले टोलीले राम्रो खेल्न नसकेको प्रतिक्रिया दिए । बराबरीपछि पुलिस १४ खेलबाट १३ अंकसहित सातौँ तथा मोरङ १५ खेलबाट सात अंकसहित लिगको पुछारमा छ । शीर्ष स्थानको थ्रीस्टारको १३ खेलबाट २६ अंक छ ।
रेडबुल राष्ट्रिय लिग अन्र्तगत बुधबार उपाधि होडमा रहेका मोफसलको झापा–११ र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबीच खेल हुनेछ । खेल दिउसो साँढे दुई बजेपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।  बुधबारको खेल जित्ने टोली शीर्ष स्थानमा उक्लेछ ।

Comment