एपीएफ माथि मनाङको कठिन जित

deepak_rai1
इन्जुरी समयमा सब्सिच्युट रुपेश केसीको एकमात्र निर्णायक गोल मद्दतमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लवले एपिएफमाथि कठिन जित निकालेको छ । मनाङले एपिएफमाथि १–० को कठिन जित निकालेको हो । जितसँगै मनाङ १२ खेलबाट २२ अंकसहित उपाधि होडमा फर्किएको छ । एक खेल बढी खेलेको शीर्षस्थानको थ्रीस्टारको २६ अंक छ । हारसँगै एपिएफ २० अंकसहित पाँचौ स्थानमा झरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ट्रफ मैदानमा निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका मौकाहरु खेर फालेको थियो ।  खेलको दोस्रो मिनेटमा नै मनाङका डुडोजको बाँया प्रहार दोस्रो बारबाट बाहिरिदा मनाङले अग्रता लिने मौका गुमाएको थियो । सातौँ मिनेटमा मनाङका गोलरक्षक दिपेश यादव अघि बढेको अवस्थामा दिपेश फ्लिक प्रहार सिसिकोले गोल लाइनबाट बचाउदै गोल जोगाएको थियो । २४औँ मिनेटमा जङ्बु शेर्पाको प्रहार पनि मनाङका गोलरक्षकले विफल पारे । ४५औँ मिनेटमा मनाङ गोलनजिक पुगेको थियो । करिव २५ यार्डमा प्राप्त फ्रिकिकमा विशाल राईको प्रहार गोलरक्षकले पञ्च गरेर फालेको बलमा रिवाउन्ड बलमा सुशिल केसीको प्रहार एपिएफका टोप बहादुर विष्टको घुँडामा र पोलमा लागेर फर्किएको थियो । दोस्रो हाफमा केही उत्कृष्ट खेल खेल्दै एपिएफमाथि हावी भएपनि मनाङका स्ट्राइकरहरुले गोल गर्न सकिरहेको थिएन । ४७औँ मिनेटमा दिपक राईको प्रहार गोलरक्षकले सजिलै बचायो । ५३औँ मिनेटमा दिपककै प्रहार रोक्दै मनाङका दर्शकलाई  निराश पारे ।  ५६औँ मिनेटमा डुडोजको शक्रिशाली प्रहार पोलमा लाग्यो । ६९औँ मिनेटमा नवीन लामाले गोल लाइनबाट बचाउदै गोल टारे । ७९औँ मिनेटमा रुपेश केसीको प्रहार गोलरक्षकले रिवाउन्ड फालेको बलमा कप्तान अनिल गुरुङको प्रहार आकासियो ।

इन्जुरी समयमा एपिएफका डिफेन्डरको सानो गल्तीमा रुपेश केसीको प्रहार सिधै गोलमा परिणत भयो । इन्जुरी समयमा दायाँ साइडबाट डिफेन्डर विराज महर्जनको लामो पासमा एपिएफका सरोज कोइरालाले क्लियर गर्न नसकेको बलमा रुपेशको प्रहारले जाली चुमेको थियो । जितपछि मनाङका प्रशिक्षक राजुकाजी शाक्यले जितपछि खुशी व्यक्त गरे । ‘प्रेसर दिएको हिसावमा इन्जुरी समयमा गोल निस्कनुलाई भाग्यमानी नै मान्नुपर्छ । प्रशिक्षक शाक्यले भने,‘ आज एपिएफमाथि जित निकाल्न नसकेको भए धेरै गाह्रो हुन थियो ।’ उनले मनाङको जुन गेम छ । त्यो अझै पनि नदेखिएको बताए । यस्तै हारपछि एपिएफका प्रशिक्षक कृष्ण थापाले अन्तिम १२ मिनेट प्रेसरमा पर्दा र बराबरीको लागि खेल्दा गोल खान पुगेको बताए । उनले इन्जुरी समयमा गोल निस्कदा मनाङ भाग्यमानी भएको संज्ञा दिए । उनले लिगमा केही गाह्रो हुने बताए । बाँकी रहेका सबै खेल जित्न सके टप थ्रीमा पर्ने उनले बताए ।
लिग अन्र्तगत मंगलबार नेपाल पुलिस क्लब मोरङ फुटबल क्लबबीच दिउसो साढे दुई बजेपछि हुनेछ ।

Comment