दिक्षा र उपेनलाई स्वर्ण

एभिएमकी दिक्षा तामाङ्ग र ज्ञालेक्सीका उपेन पराजुली दशौं हरेराम जोशी स्मृती खुल्ला टेबल टेनिसमा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । शुक्रबारबाट सुरु भएको प्रतियोगिताको छात्रा १६ बर्ष मुनीको प्रतिस्पर्धामा दिक्षाले सिसीआरसीकी सोनु थापामगरलाई ११–६, ११–५ र ११–९ को सोझो सेटमा पराजित गर्दै स्वर्णमा कब्जा जमाईन् । एभिएमकी लसता महर्जन र ज्ञान मन्दिर स्कुलकी अनुस्का प्रसाईले कास्य पदक प्राप्त गरे ।
सोही स्पर्धाको छात्र तर्फ प्राईम कलेजका स्यान्टु श्रेष्ठ र एभिएमका रितिज जोशी फाईनलमा भिड्ने भएका छन् । स्यान्टुले एभिएमका सुधाकर खत्रीलाई ११–७, ७–११, ११–३ र ११–६ले र रितिजले एभिएमकै विजय तामाङ्गलाई ११–५, ११–६ र ११–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाए ।
दुई दिने प्रतियोगिताको यु – १२ छात्र तर्फको प्रतिस्पर्धामा ज्ञालेक्सी पब्लिक स्कुलका उपेन पराजुलीले एभिएमका संजोग कपालीलाई ११–४, ११–८ र ११–९ले पराजित गर्दै स्वर्णमा आफ्नो नाम लेखाए । प्रिज्मा ईङ्गलीस बोर्डिङ्ग स्कुलका मदन तामाङ्ग र एभरेष्ट ईङ्गलीस स्कुलका  विश्वप मधुकर्मी तेश्रो स्थान प्राप्त गर्न सफल भए ।
सोही स्पर्धाको छात्रा तर्फ प्रभात ईङ्गिलस स्कुल भक्तपुरकी अंजु सुवाल र विजेश्वरीकी दूर्गा राजभण्डारी फाइनलमा प्रवेस गरेका छन् ।
पुरुष एकल खुल्ला तर्फ र भेट्रान्स तर्फका खेलहरु शनिबार हुने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।
प्रतियोगितामा करिव ३०० खेलाडीहरुको सहभागिता रहेको छ ।

Comment