तेक्वान्दोका २५ लाई छैटौँ डान

6th done

नेपाल तेक्वान्दो संघले आफ्ना २५ प्रशिक्षकलाई छैटौँ डान प्रदान गरेको छ । त्रिपुरेश्वरस्थित तेक्वान्दोको मेन डोजोमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले दीक्षित २५ प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरे ।

१० दिनसम्म सञ्चालित पाँचौँ डानको परीक्षा उत्तीर्ण गरी छैटौँ डान प्राप्त गर्न आवेदन दिएका २७ प्रशिक्षकमध्ये एक दीपक विष्ट विदेशमा रहेका र अर्का एक भरत भण्डारीको परीक्षाको तयारी नभएका कारण परीक्षामा सहभागी नभएको तेक्वान्दो संघका महासचिव एवं प्रशिक्षक दीपराज गुरुङले बताए । उनीहरूलाई निकट भविष्यमा आयोजना हुने परीक्षामा सामेल गराइनेसमेत प्रशिक्षक गुरुङले बताएका छन् । प्रशिक्षक गुरुङले छैटौँ डान प्राप्त गर्नका लागि एक खेलाडीलाई करिव २२–२३ वर्ष लाग्ने समेत जानकारी गराए ।

अब नेपालमा छैटौँ डान प्राप्त गर्नेको संख्या ६१ पुगेको छ । उत्तीर्ण प्रशिक्षकहरू राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत रहेका छन् ।
तेक्वान्दोमा सर्वोच्च नवौँं डानसम्मको ग्रेडिङ रहेकोमा नेपालमा आठौँ डानका एक मात्र तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ रहेका छन् ।प्रमाणपत्र वितरण कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा र तेक्वान्दो संघका पदाधिकारीको उपस्थिति रहेको थियो ।

 

Comment