उद्घाटन खेलमा नेपाल र भुटान खेल्दै

anfaa
पहिलो साफ च्याम्पियनसिप र पहिलो यु–१६ साफ च्याम्पियनसिपको आयोजना गरेको नेपालले नै पहिलो यु–१९ साफ च्याम्पियनसिपको पनि आयोजना गर्दै छ । आयोजनामा अघि रहे पनि हालसम्म कुनै पनि तहको साफ च्याम्पियनसिपको उपाधि जित्न नसकेको नेपाली टोलीले उत्साहका साथ यु–१९ प्रतियोगिताको सुरुआत गर्दै छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा एन्फा मैदान सातदोबाटोमा बिहीबार साफ च्याम्पियनसिप यु–१९ प्रतियोगिता सुरु हुँदै छ । प्रतियोगिताको  उद्घाटन खेलमा घरेलु तथा आयोजक टोली नेपालले भुटानविरूद्व खेल्नेछ । खेल नेपाली समय अनुसार दिँउसो साढे तीन बजेपछि हुनेछ ।
सिनियर राष्ट्रिय टोलीमा भन्दा उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्ने नेपालले साफ यु–१९ प्रतियोगितालाई घरमै राख्ने दाउमा छ । राष्ट्रिय टोलीमा समेत प्रभाव पार्ने खेलाडीको उपस्थितिका कारण यसपटकको नेपाली टोली उत्कृष्ट मानिएको छ । कप्तान बिमल घर्ती मगरका लागि नयाँ चुनौती र अवसर दुवै छ । बिमलसहितको हेमन्त थामा मगर र अनन्त तामाङ टोलीका प्रमुख खेलाडीका रूपमा रहनेछन् । अञ्जन विस्ट टोलीका अर्का महत्वपूर्ण खेलाडी हुन् । यसै टोलीले यु–१६ साफ च्याम्पियनसिप खेल्दा उपविजयी भएको थियो ।
नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले चार महिनाअघि प्रशिक्षण सुरु गरे पनि वैशाखको भुइँचालो र एन्फा नेतृत्वका प्रभावशाली व्यक्तित्व ललीतकृष्ण श्रेष्ठको निधनले प्रशिक्षणलाई बाधा पु¥याएको बताएका छन् । तथापि, पछिल्लो दुई महिनाको प्रशिक्षणका कारण टोलीबाट आशा गर्न सकिने प्रशस्त ठाउँ रहेको छ ।
दुई महिना तीन विभागीय डिभिजन क्लब तथा मनाङ–मस्र्याङ्दी क्लबसँगको अभ्यास खेलबाट नेपाली टोली स्तरीय भएको अनुमान गरिएको छ । विगतको प्रदर्शनलाई आधार मान्ने हो भने पनि भुटानभन्दा नेपाल बलियो र शक्तिशाली टोलीका रूपमा हेरिएको छ । महर्जन भुटानी टोलीलाई पनि कमजोर ठान्न नमिल्ने बताउँछन् । उनले नतिजा आप्mनो टोलीको पक्षमा आउनेमा भने विश्वस्त रहेको बताउँछन् । भुटानी प्रशिक्षक नवाङ डिन्डुप ४ महिनाको प्रशिक्षणले आप्mनो टोली राम्रो भएको बताउँछन् । उनले नेपाली टोली बलियो भएको स्वीकारे पनि  भुटानको राष्ट्रिय टोलीले भैmँ उमेर समूहमा पनि फड्को मार्नेमा आशावादी रहेको बताए ।
बेल्जियमको ब्रुगबाट हालै फर्किएका कप्तान बिमल युरापेली फुटबलको स्तरीय प्रशिक्षणबाट सिकेको कुरा प्रयोग गर्न प्रतियोगिता राम्रो अवसर हुने बताएका छन् ।
घरेलु मैदानमा पहिलो उपाधि जित्ने अभियानमा रहेको महर्जन बताउँछन् । ‘समूह ए’मा नेपालले अर्को खेल बंगलादेशसँग खेल्नेछ । समूह चरणपार गर्दै सेमिफाइनल प्रवेश गर्नेमा कसैलाई शंका नरहे पनि नेपालका लागि समूहमा पहिलो स्थान हात पार्दैै सेमिफाइनलमा सहज प्रतिद्वन्द्वीको मुकाबिला गर्ने योजनामा नेपाली टोली रहेको छ । यसपटकको प्रतियोगिताको उपाधि दाबेदार मानिएको भारत अर्को समूहमा रहेको छ । नेपाली टोलीका कप्तान बिमल भने सेमिफाइनल या फाइनलमा भारतसँगको भेटको प्रतिक्षामा छन् । यु–१६ प्रतियोगिताको हारको संस्मरण ताजै भएको उनी बताउँछन् ।  ‘समूह बी’मै अफगानिस्तान र माल्दिभ्स पनि रहेका कारण सो समूहमा कुनै पनि नतिजा आउन सक्ने अनुमान गरिएको छ ।

 

Comment