यु–१९ साफको तयारी पूरा

anfaaअखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौंमा हुने प्रथम यु–१९ साफ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फाले सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । प्रतियोगितामा दक्षिण एसियाका ६ टोलीको सहभागिता छ । प्रतियोगिताको पहिलो संस्करणमा पाकिस्तान र श्रीलंकाले सहभागिता जनाएका छैनन् ।

प्रतियोगिताको सम्पूर्ण खेलहरू एन्फा कम्प्लेक्स सातदोबाटोस्थित आर्टिफिसियल मैदानमा हुने भएको छ । यसअघि एन्फाले वैकल्पिक मैदानको रूपमा नेपाल आर्मीको लगनखेलमा रहेको सैनिक शारीरिक प्रशिक्षण तथा खेलकुद केन्द्रमा खेलाउने बताएको थियो । तर, एन्फाले सातदोबाटोमा रहेको आर्टिफिसियल मैदानको भौतिक पूर्वाधार निर्माण कार्य सकिएकाले प्रतियोगिता सातदोबाटोमै सञ्चालन गर्ने जानकारी गरायो । प्रतियोगिताका लागि दुई सहभागी टोली आइसकेको र बाँकी टोली बुधबारसम्म आइपुग्ने एन्फाका सिइओ इन्द्रमान तुलाधरले जानकारी गराए । टोलीहरूलाई प्रतियोगिता दौरान प्रशिक्षणको लागि सेन्ट जेभियर्स जावलाखेल, नेपाल आर्मीको भद्रकालीस्थित मुख्यालयको खेलमैदान र नेपाल आर्मीकै लगनखेलमा रहेको सैनिक शारीरिक प्रशिक्षण तथा खेलकुद विकास केन्द्र व्यवस्था गरिएको पनि जानकारी दिए । सहभागी देशहरूमध्ये भुटान र माल्दिभ्सलाई ठमेलको मनाङ होटल र नेपालसहित बाँकी बंगलादेश, भारत र गोदावरीस्थित भ्यु भृकुटीमा र खेल सञ्चालन गर्न साफबाट मनोनित म्याच अफिसियललाई ताहाचलस्थित होटल ग्रान्डमा बस्ने व्यवस्था गरिएको छ ।

यस्तै एन्फाले साधारण प्याराफिटतर्फ दुई सय रुपैयाँ र भिआइपीतर्पm तीन सय रुपैयाँ टिकट दर पनि तोकेको छ । टिकट सातदोबाटोस्थित नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको परिसरबाट बिक्री हुनेछ । सातदोबाटोको मैदानमा दर्शक क्षमता कम भएको भन्दै एन्फाले यसपटक साधरण प्याराफिटतर्फ दुई हजार पाँच सय र भिआइपीतर्पm पाँच सय मात्र टिकट बिक्री गरिने पनि जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब ७८ लाख अनुमानित बजेट लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिता सञ्चालनका लागि साफबाट ५० हजार अमेरिकी डलर उपलब्ध भइसकेको र बाँकी रकम टिकटबिक्री र एन्फाका आधिकारिक प्रायोजनबाट पूरा गरिने एन्फाका सिइओ इन्द्रमान तुलाधरले जानकारी गराए ।

Comment