तेक्वान्दो टोली कोरिया प्रस्थान

nabin guru
कोरिया ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली तेक्वान्दो टोली आइतबार दक्षिण कोरिया प्रस्थान गरेको छ । विश्व तेक्वान्दो महासंघको क्यालेन्डरमा समावेश यो प्रतियोगिता २२ देखि २७ जुलाइसम्म दक्षिण कोरियाको छुन छियोनमा हुँदै छ । तीन पुरुष खेलाडीले नेपालको चुनौति प्रस्तुत गर्नेछन् ।
५८ केजीमुनि रन्जन श्रेष्ठ, ६३ केजीमुनि रोहित तामाङ र ७४ केजीमुनि सक्षम कार्कीले प्रतिस्पर्धा गर्नेछन् । तीनै खेलाडीले फरकफरक दिन प्रतिस्पर्धा गर्नेछन् । जुलाई २४ मा रन्जन, २५ मा रोहित र २६ मा सक्षम कार्कीले खेल्ने तालिका छ । प्रशिक्षकमा नवीनकुमार श्रेष्ठ रहेका छन् । नेपाली तेक्वान्दोमा भिन्न पहिचान बोकेको कोटेश्वरका प्रशिक्षक नविनले टोलीको जिम्मेवारी संहाल्दा संयोगवश टोलीमा कोटेश्वरकै उत्पादन रञ्जन र सक्षम समावेश छन् । दुई दशकदेखि तेक्वान्दोमा छाप छाडेको कोटेश्वरले यसअघि पनि थुप्रै प्रतिभाशाली खेलाडी उत्पादन गरेको छ । रञ्जन पछिल्लो समय राष्ट्रिय टोलीका हेर्नलायक खेलाडी हुन् । नविन यसअघि चीनको बेइजिङमा भएको ओलम्पिकमा लागि भियतनाममा भएको छनोट चरणमा टोलीका प्रशिक्षकको रूपमा जिम्मेवारी सम्हालेका थिए । त्यसै प्रतियोगिता पार गर्दै दीपक विष्ट ओलम्पिकमा छनोट भएका थिए ।
हाल गएको टोलीले दक्षिण कोरियाकै सुङनिममा हुने अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा पनि सहभागिता जनाउने प्रशिक्षक श्रेष्ठले जनाएका छन्  । उक्त प्रतियोगिता २७ देखि २९ जुलाइसम्म सञ्चालन हुनेछ ।
टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान र महासचिव जीवनराम श्रेष्ठले बिदाइ गरे । टिम व्यवस्थापकमा अर्जुन केसी तोकिएका छन् ।

Comment