निशालाई रजत पदक

nisha rawal

नेपाली खेलाडी निशा रावलले जियोन्जु खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आइतबार रजत जितेकी छन् । निशाले महिलाको ७३ केजीमाथि रजत जितेको प्रशिक्षक नोर्बु लामाले जनाएका छन् ।     निशा पहिलो चरणमा वाइ पाउँदै सेमिफाइनल प्रवेश गरेकी थिइन् । सेमिफाइनलमा निशाले दक्षिण कोरियाको सेन युनिभर्सिटीकी म्युङ सेयोङलाई १७–४ ले पराजित गरिन् र फाइनलमा स्थान बनाइन् । फाइनलमा भने निशा दक्षिण कोरियाकै डेक्युङ युनिभर्सिटीकी सुजिनसँग सडन डेथमा हारिन् । निर्धारित तीन राउन्डको खेल ४–४ को बराबरीमा सकिएको थियो ।
त्यस्तै, महिलाको ४९ केजीमुनि सीता तामाङ इन्डोनेसियाकी खेलाडीसँग ४–१३ ले पछि परिन् । महिलाको ५३ केजीमुनि नीमा गुरुङ पनि ताजाकिस्तानकी खेलाडीसँग सडन
डेथमा पराजित भइन् । तेस्रो राउन्ड सकिँदासम्म निमा र प्रतिद्वन्द्वी ५–५ को बराबरीमा थिए ।
नेपाली तेक्वान्दो टोली दक्षिण कोरियाको ग्वाङजुमा सम्पन्न २८औँ समर युनिभर्सियाड गेम–२०१५ मा भाग लिएर उक्त च्याम्पियनसिपका लागि कोरियामै बसेका थिए । पछिल्लो समय नेपाली तेक्वान्दोमा पदकको खडेरी परेको समयमा निशाको यो पदक अर्थपूर्ण मानिएको छ ।

Comment