केसी राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक

dhurba kc

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षक ध्रुवबहादुर केसीलाई नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फाले केसीलाई बिहीबारबाट प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
एन्फाले केसीलाई एक वर्षका लागि प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ  । केसी दोस्रोपटक सिनियर टोलीको प्रशिक्षण बनेका हुन् । राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी पाएका केसीले शुक्रबारबाट प्रशिक्षण सुरु गर्नेछन् । केसीको प्रशिक्षणमा नेपालले आगामी ३१ अगस्टमा भारतसँग मैत्रीपूर्ण फुटबल खेल्नेछ ।
केसी  राष्ट्रिय खेलकुद परिषद्का मुख्य फुटबल प्रशिक्षक हुन् । सन् १९८७ बाट प्रशिक्षण सुरु गरेका केसीले उमेर समूहका विभिन्न टिम सम्हालिसकेका छन् । उनले सन् १९९६ मा  पहिलोपटक काठमाडौंमा आयोजना भएको सत्रौँ एसियन यु १६ च्याम्पियनसिपमा नेपाली टोलीको मुख्य प्रशिक्षण सम्हालेका थिए ।
त्यस्तै १९९८ मा केसीले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षण सम्हालेका थिए । उनकै प्रशिक्षणमा नेपालले अलइन्डिया गभर्नर गोल्डकपमा जित हात पारेको थियो ।
पछिल्लो समय २०१० मा उनले नेपाली महिला टोलीको प्रशिक्षण भएका थिए । उनको प्रशिक्षणमा नेपाली महिला  फुटबल टिमले साउथ एसियन गेममा रजत  हात पारेको थियो ।
बंगलादेशमा भएको साफ महिला फुटबलमा पनि उनकै प्रशिक्षणमा नेपालले रजत पदक जितेको थियो । त्यस्तै केसीले विभिन्न ए डिभिजनका क्लबहरू सम्हालिसकेका छन् । उनकै प्रशिक्षणमा थ्रीस्टार क्लबले बीस २०६१ सालमा ए डिभिजन लिगको उपाधि जितेको थियो ।
पछिल्लो समयमा गरेको कमजोर प्रदर्शनका बीच प्राप्त जिम्मेवारी चुनौतीपूर्ण भएको प्रशिक्षक केसी स्वीकार्छन् । उनी भन्छन्, ‘चुनौती छ । तर, विगतका चुनौतीका बीच सुधार गरेको अनुभवले आत्मविश्वास दिलाएको छ ।’
१४ भदौमा भारतसँग हुने मैत्रीपूर्ण खेल केसीको पहिलो परीक्षा हुनेछ । तत्काललाई सेटिङ र ‘कन्डिसनल पार्ट’मा ध्यान दिने
बताउने केसीको त्यसपछिको लक्ष्य साग खेलकुद र साफ च्याम्पियनसीप नै हो । केसीलाई नजीकबाट नियाल्नेहरू मजबुत रक्षापंक्ति र शारीरिक फिटनेस उनका विशेषता हुन् । नेपाली महिला टोलीको स्तर उकास्दै दक्षिण एसियाको हेर्नलायक टोली बनाउन केसीको महत्वपूर्ण भूमिका रहेको थियो । सामान्य मानिने नेपाली महिला फुटबल टोली सन् २०१० मा केसीको साथ पाएपछि एकाएक बलियो शक्तिको रूपमा स्थापित भएको थियो ।
यस अघिका खेल प्रतिस्पर्धात्मक रूपमा भारतसँग हार्ने गरेको नेपाली टोली केसीको प्रशिक्षणमा भारत बराबरकै बनेको थियो । ढाका सागमा बलियो रक्षापंक्तिकै आडमा नेपाली टोलीले लामोसमय अग्रता लिएको थियो । त्यसको लगत्तै भएको साफ च्याम्पियनसीपमा नेपाली टोली उपविजेता बनेको थियो ।

Comment