यु–१६ सेभेन–ए–साइडको उपाधि एकता एफसीलाई

pokhara football

पोखरा
आरटी फुटबल ट्रेनिङ सेन्टर र कालरेखा प्रोडक्सन प्रालिको संयुक्त आयोजनामा पोखरामा सम्पन्न यु–१६ एक दिने सेभेन–ए–साइड फुटबल प्रतियोगिगताको उपाधि एकता एफसी लालीगुराँस टोलले जितेको छ।
पोखरा रड्डशाला शनिबार भएको फाइनल खेलमा काजीपोखरी युथ क्लब काजीपोखरीलाई टाइब्रेकरमा २–० ले पराजित गर्दै एकता एफसीले उपाधि जितेको हो। निर्धारित १०–१० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा एकता एफसीका प्रदीप खत्री र कृष्ण थापामगरको प्रहार गोलमा पपिरणत भएको थियो भने काजीपोखरीका श्यामसुन्दर आले र अमर गिरीको प्रहार एकता एफसीका गोलकिपरले उत्कृष्ट तरिकाले सेभ गरेका थिए।
प्रतियोगितामा एकता एफसीका प्रदीप खत्री बेस्ट प्लयेर घोषित हुँदै ट्रफी प्राप्त गरे।
विजेता तथा उपविजेता टीमका खेलाडीलाई प्रमुख अतिथि खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपानेले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए।
२१ टीमको सहभागिता रहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा काजीपोखरीले गार्डेन एफसीलाई १–० ले तथा दोस्रो खेलमा एकताले एमएफसी खाल्टेमसिनालाई ४–० ले हराउँदै फाइनलमा प्र्रवेश गरेको कालरेखा प्रोडक्सन प्रालिका प्रबन्ध निर्देशक विशाल सैंजूले जानकारी दिए।
प्रतियोगिताका २० खेल राजेन्द्र तामाङ, प्रताप सैंजू र सुमन कुँवरले खेलाएका थिए।
यसअघि जेठ ९ गते आरटी फुटबल ट्रेनिङ सेन्टर र कालरेखा प्रोडक्सन प्रालिको संयुक्त आयोजनामै पोखरा रड्डशालामा यु–१४ एक दिने सेभेन–ए–साइड फुटबल प्रतियोगिता सम्पन्न भइसकेको आरटी फुटबल ट्रेनिङ सेन्टरका प्रशिक्षक एवं पूर्व राष्ट्रिय फुटबल खेलाडी राजेन्द्र तामाङले जानकारी दिए।
स्विर सौजन्य ः विशाल सैंजू

Comment