कोष्टाव्लांकाको अध्यक्षमा विपिन

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) क्षेत्रीय समिति कोष्टाव्लांकाको अध्यक्षमा विपिन कुमार बिसी सर्वसम्मत चयन भएका छन् । उनले दुई दशक बढी स्पेनमा व्यवसाय गर्दै आएका छन् ।
तेस्रो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि १३ सदस्यीय कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा सुवास ओली, सचिवमा अनुष्मा पोख्रेल, कोषाध्यक्षमा रुद्रनारायण आचार्य, सहसचिवमा डा. वृहस्पति पण्डित चयन भएका छन् । यस्तै युवा संयोजकमा सुसांक खत्री, महिला संयोजकमा जानुका पौडेल चयन भएका छन् । सदस्यहरूमा गोविन्द पोखरेल, पदमलाल लामिछाने, विमला पोख्रेल, चन्द्रा खत्री, अजय थापा, कृष्ण पुन रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष विसिले कोष्टाव्लांकामा रहेका सबै नेपालीलाई समेट्ने बताए । उनले भने, सामाजिक कार्य सहज बनाउन नेतृत्व लिएको छु, सबैलाई समेट्ने छु ।’ बिसी सन् २००४ मा स्पेन छिरेका थिए । ३ वर्ष जति काम गरेपछि उनले आफ्नै व्यवसाय सुरु गरेका थिए ।
नयाँ कार्यसमितिमा अधिकांश युवाहरू छन् । एनआरएनए स्पेनका केन्द्रीय उपमहासचिव तथा निर्वाचन पर्यवेक्षक केशवराज कँडेलले स्वसहमतिमा नेतृत्व चयन गरेर कोष्टाव्लांकाले एकताको सन्देश दिएको बताए । एनआरएनए स्पेनका केन्द्रीय सदस्य रितेश श्रेष्ठले साझा चरित्र नै सफलताको माध्यम हुने बताए ।
निर्वाचन समिति संयोजक देवराज सापकोटाले नयाँ कार्यसमिति आसलाग्दो र भरपर्दो बनेको बताए । क्षेत्रगत सचिव सन्तोष अर्यालले कोष्टाव्लांकां सौहार्दपूर्ण नेपाली बसोबास गर्ने थलो बनेको बताए ।
एनआरएनए कोष्टाव्लांका निवर्तमान अध्यक्ष सुरेश बज्राचार्यले आफ्नो कार्यकाल सफल पार्न योगदान गर्ने सबैलाई धन्यवाद दिए । निर्वाचित कार्यसमितिलाई पर्यवेक्षक तथा एनआरएनए स्पेनका उपमहासचिव केशवराज कँडेल, निर्वाचन समिति संयोजक देवराज सापकोटा, एनआरएनए स्पेनका केन्द्रीय सदस्य रितेश श्रेष्ठले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कोष्टाव्लांकामा २०० सय बढी एनआरएनएमा आबद्ध छन् ।