प्रवासी नेपाली मञ्चको दोस्रो विस्तारित बैठक बेल्जियममा

Manoj Shiama
12 June, 2025 1:05 pm

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो विस्तारित बैठक ९ जुनमा बेल्जियमको आन्त्वर्पेन सहरमा सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रवासी नेपाली मञ्च युरोप–अमेरिका इन्चार्ज घनश्याम पाण्डेको प्रमुख आतिथ्य र ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापासहितका नेताहरू विशेष अतिथि रहेको बैठकले १६ बुँदे निर्णय गरेको छ । 

बैठकमा ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका सचिव तथा सङ्गठन विभाग प्रमुख हेम शेर्पा, सचिवालय सदस्य तथा युरोप इन्चार्ज भक्त वाग्लेसमेतको विशेष उपस्थिति रहेको थियो । युरोप महादेश संयोजक मुक्त बहादुर गुरुङको अध्यक्षता र सचिव सालिकराम थपलियाले सञ्चालन गर्नु भएको उक्त बैठकमा युरोप महादेशका २० देशहरूबाट १५० जनाको सहभागिता रहेको थियो । बैठकले समसामयिक विषयहरूमा छलफल गरी १६ बुँदे निर्णय लिएको हो ।

बैठकले हाल तीव्र रूपमा नेपालीहरूको आगमन भइरहेका देशहरू जस्तै पोल्यान्ड, साईप्रस, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशहरूमा केही निर्णय भइसकेका र केही निर्णय हुन बाँकी रहेका मुलुकहरूमा यथाशीघ्र कूटनैतिक नियोग स्थापनाका लागि जोडदार माग गरेको छ ।

यसै गरी बैठकले विविध कारणले हाल प्रवासमा बसिरहेका नेपालीहरूको नेपाली नागरिकता निरन्तरताका लागि जोडदार माग गरेको छ । बैठकले संविधान प्रदत्त तथा सम्मानित सर्वोच्च अदालतबाट समेत निर्देशन भए अनुसार प्रवासबाट मतदान गर्ने अधिकारलाई व्यवस्थित गरी प्रवासीहरूलाई आफ्नो मतदानको अधिकार प्रदान गर्नको लागि निर्वाचन आयोग र नेपाल सरकारसँग माग गरेको छ ।

बैठकले विगत लामो समयदेखि युरोपियन मुलुकहरूमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले नेपाली वायु सेवा निगममाथि लगाएको प्रतिबन्धलाई फुकाउन आवश्यक कूटनैतिक पहलका लागि नेपाल सरकार समक्ष जोडदार माग गरेको संयोजक मुक्त गुरुङ र सचिव सालिकराम थपलियाले जानकारी दिए । 

बैठकमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, सचिव तथा सङ्गठन विभाग प्रमुख हेम शेर्पा, सचिवालय सदस्य तथा युरोप इन्चार्ज भक्त वाग्ले विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो । यसै गरी अन्तर्राष्ट्रिय कमिटीका सदस्यहरू गोविन्द पौडेल,सरस्वती केसी, सुरेन्द्र थपलिया, कल्पना त्रिपाठी, राजेन्द्र पुडासैनी,सन्तोष भट्टराई, अन्तर्राष्ट्रिय सल्लाहकार परिषद्का उपाध्यक्ष रामशरण सिम्खडा, सदस्यहरू भोजराज त्रिपाठी, नारायण अधिकारी अन्तर्राष्ट्रिय कमिटीका विभागीय पदाधिकारी तथा सदस्यहरू एनआरएनए तथा सङ्घ–संस्था समन्वय विभागका उपप्रमुख डा. चिरञ्जीवी खड्का, कला, साहित्य तथा संस्कृति विभागका सचिव खड्ग न्यौपाने, उद्योग व्यवसाय विभागका सदस्य शिव लामिछाने, युरोप कमिटी सल्लाहकार परिषद्का अध्यक्षलगायतका नेताहरू अतिथि रहेका थिए । 

यसै गरी बैठकले सन् २०२५ भित्र “जहाँ नेपाली, त्यहाँ प्रवासी नेपाली मञ्च“ भन्ने नारालाई सार्थक बनाई युरोप महादेश अन्तर्गतका धेरैभन्दा धेरै राष्ट्रहरूमा राष्ट्रिय कमिटी गठन गर्नका लागि प्रतिबद्धता जनाएको छ । साथै सन् २०२५ को अन्तसम्ममा हरेक राष्ट्रिय कमिटीहरूले आ–आफ्नो राष्ट्रमा रहेका नेपालीहरूको जनसंख्याको न्यूनतम ३ प्रतिशत सङ्गठित सदस्यता बिस्तार गर्ने निर्णय पनि गरेको छ ।

यसै गरी बैठकले प्रवासी नेपाली मञ्चको नेतृत्वमा संयुक्त लगानीको अवस्थालाई प्रत्याभूत गर्नका लागि आगामी ६ महिनाभित्र कम्तीमा २ अर्बको संयुक्त पुँजीको सङ्कलन गरी लगानी कम्पनीमार्फत कार्य गर्न आवश्यक कागजी र प्रक्रियागत कार्यहरू सम्पन्न गरी आवश्यक योजनाको छनौट सहित कार्य योजनालाई अगाडि बढाउने निर्णय गरेको छ । लगानी विभागको अवधारणालाई मूर्त रूप दिन अल्प र दीर्घकालीन योजनाको प्रस्ताव प्राप्त भएकाले रकम सङ्कलन र प्राप्त योजनाहरूको छानबिन गरी लगानीको प्रक्रिया अगाडि बढाइने बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ । बैठकले महिला सशक्तीकरणको कामलाई युरोपमा व्यवस्थित गर्दै कम्तीमा वर्षको एक पटक महिलाहरूको विशेष कार्यक्रम आयोजना गर्ने र हरेक भेलाहरूको दस्तावेजीकरण सहित निरन्तरता दिने निर्णय गरेको छ ।