डे विन्डे नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक

नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्डे नियुक्त भएका छन् । महिला राष्ट्रिय टोलीले पाएको उनी औपचारिक रूपमा पहिलो विदेशी प्रशिक्षक हुन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्रशिक्षक छनोट समितिले सर्ट लिस्टमा रहेका दुई जनाबाट उनको नाम तय गरेको हो । युइएफए प्रो लाइसेन्स होल्डर प्याट्रिकले उज्बेकिस्तानमा हुने एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत लाओसविरुद्धको खेलमार्फत प्रशिक्षकको भूमिकामा नेपाली टोलीमा डेब्यु गर्नेछन् ।
यी दुईबिचको खेल २९ जुनमा हुनेछ । नेपाल र लाओस समूह ‘एफ’ मा परेका छन्। यो समूहमा उज्बेकिस्तान र श्रीलङ्का पनि छन् ।
नेपाल फिफा वरीयतामा ९९औँ स्थानमा छ । लाओस भने आठ स्थान तल अर्थात् १०७औँ स्थानमा छ । नेपालले दोस्रो खेल श्रीलङ्का र अन्तिम खेल घरेलु टोली उज्बेकिस्तानसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसिया कपमा स्थान बनाउने छ ।
६० वर्षीय प्याट्रिकले यसअघि नेपाल सुपर लिगमा काठमाडौं रेजर्सको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनको टोली लिग चरणमा पोखरा थन्डर्ससँग गोल अन्तरले पछि पर्दै प्लेअफमा पुग्न चुकेको थियो ।
प्याट्रिकले पछिल्लोपल्ट सोमालिया राष्ट्रिय फुटबल टोली सम्हालेका थिए। उनीसँग रुवान्डाको टोली सम्हालेको अनुभव पनि छ। यस्तै, उनले चीनको यु–२३ टोली सम्हाल्नुका साथै अल्जेरिया र हंगेरीको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेका छन्।