लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२६ शनिवार

Manoj Shiama
18 March, 2026 8:23 am

काठमाडौँ, चैत ३ गते । नेपाल ओलम्पिक कमिटी (एनओसी)को आयोजनामा चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२६ शनिवार लुम्बिनीमा हुने भएको छ । 

एनओसीले सन् २०२२ देखि लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन गर्दै आएको हो । यसपालि पुरुष म्याराथन, महिला हाफ म्याराथन, खुल्ला ५ किमी दौड (पुरुष÷महिला),  ५ किमी दौड (स्कुल ब्वाइज÷गल्र्स), ५ किमी रन भेटरान पुरुष गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ । यसै गरी ३ किमी खुल्ला पिस वाकाथनको आयोजना पनि गरिनेछ । यी सबै इभेन्टमा गरी कूल १२०० जनाले सहभागिता जनाउनेछ ।

चौथा संस्करणमा कूल पुरस्कार राशि १७ लाख ६९ हजार रुपियाँ रहेको छ । पुरुष म्याराथनमा विजेताले तीन लाख ५० हजार, दोस्रो हुनेले दुई लाख ५० हजार र तेस्रो हुनेले एक लाख ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछ । यसै गरी म्याराथनमा शीर्ष दस स्थानमा रहने धावकहरूलाई क्रमशः एक लाख, ८० हजार, ६० हजार, ४० हजार, २० हजार १० हजार र ५ हजार रुपियाँ प्रदान गरिनेछ । 

महिला हाफ म्याराथनमा विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख, तेसो हुनेले ८० हजार, चौथो हुनले ५० हजार र पाँचौँ स्थान प्राप्त गर्नेले ३० हजार रुपियाँ पुरस्कार पाउनेछ । अन्य विधामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

एनओसीका उपाध्यक्ष तथा लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनका संयोजक अशोक रत्न बज्राचार्यले प्रत्येक वर्ष अप्रिल ६ मा विश्वभर मनाइने विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसबाट लुम्बिनी पिस म्याराथन प्रेरित रहेको बताउनुभयो । उहाँले भन्नुभयो– एनओसीले विगत चार वर्षदेखि खेलकुदमार्फत शान्ति, एकता र दिगो विकास प्रवर्धन गर्ने नेपालको प्रतिबद्धतालाई निरन्तरता दिने उद्देश्यअनुरूप युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा यो दौडको आयोजना गर्दै आएको छ ।

संयोजक बज्राचार्यका अनुसार लुम्बिनी पिस म्याराथन एनअ‍ोसीको एक प्रमुख कार्यक्रमका रूपमा स्थापित भइसकेको छ । उहाँले भन्नुभयो– यसपालि सहभागीहरूको सङ्ख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ । यसलाई लुम्बिनी पिस म्याराथनको सफलताको रूपमा लिएको छु । यसै गरी लुम्बिनी पिस म्याराथनले  लामो दुरीको दौडमा नेपालको स्तरलाई थप माथि पुर्‍याउने र धावकधाविकाहरुको हौसला बढाउन पनि सहयोग गर्ने अपेक्षा संयोजक बज्राचार्यको छ ।

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनले उत्कृष्ट खेलाडीहरू, धावकहरू, युवाहरू, आध्यात्मिक व्यक्तित्व तथा विश्वभरका शान्ति अभियन्तालाई एकै ठाउँमा ल्याउने, खेल पर्यटनलाई प्रवर्धन गर्ने तथा लुम्बिनीलाई शान्ति र आध्यात्मिकताको विश्वव्यापी गन्तव्यका रूपमा थप पहिचान दिलाउने अपेक्षा गरिएको छ ।

गत संस्करणमा पुरुष म्याराथनमा अनिश थापामगर र महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ विजेता बन्नुभएको थियो ।