रुपक स्मृति पुरस्कार सन्तोष,भगवती, मधुसुदन,पेमा र महेश्वरलाई

anfa

यस बर्षको रुपक स्मृति पुरस्कारबाट नेपाली फुटबलमा योगदान दिएका दुई खेलाडी, दुई रेफ्री र एक प्रशिक्षक गरि पाँच जना पुरस्कृत भएका छन ।
अखिल नेपाल फुटवल संघ एन्फाले आइतबार सातदोवाटोमा गरेको कार्यक्रममा फुटवलसंग सम्बन्धित पाँच ब्यक्तित्वलाई एक लाख नगद र एक थान मोटरसाइृकलबाट सम्मानित गरियो ।
रुपकस्मृति प्रष्तिष्ठान र अखिल नेपाल फुटवल संघ एन्फाको सक्रियतामा प्रदान गरिने रुपक स्मृति पुरस्कारबाट नेपाली राष्ट्रिय फुटवल टोलीका स्ट्राइकर सन्तोष साहुखल र राष्ट्रिय महिला फुटवल टोलीकी सदस्य भगवती थापा सम्मानित भए ।

त्यस्तै लामो समय राष्ट्रिय तथा फिफा रेफ्री रहेका मधुसुदन खनाललाई पनि पुरस्कृत गरियो । त्यस्तै नेपाली राष्ट्रिय महिला फुटवल टोलीकी पूर्वकप्तान तथा महिला फुटवलमा पहिलो अन्तराष्ट्रिय गोलकर्ता पेमा डोल्मा शेर्पा पनि रुपकस्मृति पुरस्कार २०७१ बाट सम्मानित भइन ।

उनी अहिले फिफा महिला रेफ्री प्रशिक्षकका रुपमा कार्यरत छिन । त्यस्तै प्रशिक्षक महेश्वर मुल्मीलाई यसबर्षको रुपकस्मृति पुरस्कार बाट सम्मानित गरियो । उनको प्रशिक्षणमा नेपाली टोलीले सन् १९९३ काृ छैटौं साफ च्याम्पियनसिपमा स्वर्ण जितेको थियो भने सन् १९८३ को पहिलो साफ र १९९९ को आठौं साफमा रजत जितेको थियो ।
उनी सन् १९७० देखि १९८० सम्म नेपाली राष्ट्रिय फुटवल टोलीबाट खेलेका थिए । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतले पुरस्कार बितरण गर्नुभएको थियो ।
नेपाली राष्ट्रिय फुटवल टोलीका पूर्व कप्तान तथा रेफ्री रुपकराज शर्माको स्मृतिमा अखिल नेपाल फुटवल संघ एन्फाले बिक्रम सम्बत २०५३ सालदेखि हरेक बर्ष फुटवलमा योगदान दिने ब्यक्तिहरुलाई पुरस्कृत गर्दै आएको छ ।

Comment