ललितपुर एनएसएल च्याम्पियन


ललितपुर सिटी एफसीले जारी नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ । शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।१–० ले पछि परेको खेलमा कमब्याक गर्दै ललितपुर सिटीले खेल जितेको हो । ललितपुरको जितमा इमोह इजेकीएलले २ गोल गरे भने दिनेश हेम्जनले एक गोल गरे । ललितपुरका लागि पहिलो गोल इमोहले खेलको ४५औं मिनेटमा गरेका थिए । त्यसपछि खेलको ५१औं मिनेटमा दिनेशले गोल गर्दै ललितपुरको अग्रता दोब्बर पारेका थिए । त्यसपछि खेलको ५८औं मिनेटमा इमोहले आफ्नो दोस्रो गोल गर्दै ललितपुरलाई ३–१ को अग्रता दिलाएका थिए ।
ललितपुरका इमोहले यस सिजनमा ६ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । यस अघि खेलको ३८औँ मिनेटमा धनगढीका अफीज ओलावालेले गोल गर्दै सुरुवाती अग्रता दिएका थिए भने खेलको ९८औं मिनेटमा अहमद हिजाजीले दोस्रो गोल गर्दै धनगढीलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।
यस खेलमा खेलको ८०औं मिनेटमा धनगढीका रिचार्ड ओसेलले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाएका थिए । लिग चरणमा ८ खेलमा २ जित, ४ बराबरी र २ हार ब्यहोरेको ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौं रेजर्स र दोस्रो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
यता लिग चरणमा ८ खेलमा ३ जित, ४ बराबरी र एक खेलमा हार बेहोरेर १३ अंकसहित दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको धनगढीले पहिलो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

Comment