एनएसएलमा धनगढीको अग्रता

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बिहीबार भएको खेलमा धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई १–० ले पराजित गरेको छ । दशरथ रङ्गशालामा भएको खेलमा धनगढीलाई जिताउन खेलको अन्तिम समयमा आफिज ओलावालेले गोल गरे ।

६९ औँ मिनेटमा अभिषेक गुरुङको ठाउँमा मैदान प्रवेश गरेका ओलावालेलाई अहमद हिजाजीले पास उपलब्ध गराएका थिए । बुटवलका गोलरक्षक अघि बढेको मौका सदुपयोग गर्दै ओलावलेले गोल गरेका थिए ।

बुटवलमाथि १–० को जितसँगै धनगढी अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ । धनगढीले यसअघि पहिलो खेलमा वीरगन्ज युनाइटेडलाई २–१ ले पराजित गरेको थियो ।

बुटवल लुम्बिनीको भने एनएसएलमा यो लगातार दोस्रो हार हो । उसले पहिलो खेलमा ललितपुर सिटी एफसीसँग हार व्यहोरेको थियो ।

धनगढीका मोहम्मद ताहा खेलका म्यान अफ द म्याच घोषित भए ।  

Comment