जर्मनीमा भएको प्रतियोगितामा नेपाली खेलाडीलाई सफलता

जर्मनमा आयोजित अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपमा नेपालबाट सहभागी टिम स्वदेश फिर्ता भएको छ । ४ देखि २४ अगस्टसम्म भएको सो प्रतियोगिता र समर क्याम्पमा नेपाल बाट सहभागी खेलाडीहरूले पदक जित्न सफल भएका छन् । कीर्तिपुर नगरपालिका र जर्मनको लुविज नगरपालिकाको सहकार्य र मार्सल आर्ट अर्गनाइजेसन नेपालको सहयोगमा उक्त टिम जर्मन गएको थियो । खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरी पदक जित्न सफल भएको टिम प्रशिक्षक राजीव महर्जनले जानकारी दिए । 

पदक विजेता खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापकलाई कीर्तिपुर नगरपालिकाले एक कार्यक्रम गरी सम्मान गरेको छ । कार्यक्रममा कीर्तिपुर खेलकुद विकास समिति तथा विथ लोकल्स नेपालले पनि सहयोग गरेको विथ लोकल्सका सञ्चालक सुदिप महर्जनले बताए  । विजेता खेलाडीहरूलाई कीर्तिपुर नगरपालिकाको उप मेयर शुभ लक्ष्मी शाक्यले विजेता खेलाडीहरू तथा प्रशिक्षक लाई खादा र प्रमाण–पत्र प्रदान गरी बधाई ज्ञापन गरिन् । साथै खेलाडीहरूलाई थप प्रगति गर्दै देश र कीर्तिपुर नगरको नाम उच्च राख्न हौसला समेत प्रदान गरिन् । 

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बास्कोटा, वडा अध्यक्ष राजकुमार श्रेष्ठ, कीर्तिपुर खेलकुद समितिका संयोजक विजय प्रकाश महर्जन लगायतको उपस्थिति रहेको थियो ।

प्रशिक्षक राजीवले दिएको जानकारी अनुसार इभान महर्जनले ३० केजीमा स्वर्ण पदक तथा एन्गस महर्जनले ४० केजीमा रजत पदक पाए । यसै गरी प्याट्रिक श्रेष्ठले ५० केजीमा कास्य पदक जिते । टोलीको मेनेजर रजनी डङ्गोल थिइन् । 

Comment