उसुको विकास र विस्तारका लागि सम्झौता

चीनको शिचुवान प्रान्तको मिनयाँङ उसु सङ्घ, मार्सल आर्ट अर्गनाइजेसन नेपाल र काठमाडौं झेन्जी ट्रेडिसनल आर्चरी एन्ड मार्सल आर्ट्स अर्गनाइजेसनबीच संयुक्त रूपमा ३ वर्षको लागि उसु खेल विकास र विस्तारका गर्ने सम्झौता भएको छ ।
सम्झौता पत्रमा मार्सल आर्ट्स अर्गनाइजेसनका अध्यक्ष राजीव महर्जन र शिचुवान प्रान्त उसु सङ्घका कार्यकारी निर्देशक तथा मियाँङ उसु सङ्घका महासचिव ली छिङले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा दुई पक्षबिच उसु खेलको विकासमा दुवै पक्षले एक आपसमा सहयोग गर्ने उल्लेख गरिएको छ । उक्त कार्यक्रममा मियाँङ नगरपालिकाका उप मेयर ली झिन, मियाँङ उसु सङ्घका उपाध्यक्षको उपस्थित रहेको थियो ।
सम्झौता पत्रमा उसु खेलको प्रवर्द्धन र विकास गर्ने उद्देश्यका साथ दुवै पक्षहरूले एक अर्काको देशमा उसु खेलको प्रशिक्षण गर्न÷गराउन प्रत्येक वर्ष प्रतिनिधि पठाउने, उसु खेलको इतिहास, दर्शन, प्रशिक्षण विज्ञान र खेलकुद चिकित्सा जस्ता विषयहरूमा गहन छलफल गर्न दुवै पक्षका विज्ञहरू र विद्वानहरूलाई बोलाउने, छोटो अवधिको लागि उसु शिक्षण र प्रशिक्षणको लागि उत्कृष्ट प्रशिक्षकहरूको आदानप्रदान गर्ने, दीर्घकालीन प्रशिक्षणको लागि आशाजनक खेलाडीहरू छनौट गरी प्रशिक्षण गराउन मियाँङ उसु संघले व्यावसायिक प्रशिक्षण स्रोतहरू र प्राविधिक मार्गदर्शन प्रदान गर्ने उल्लेख गरिएको छ ।
दुवै पक्षको प्रभाव बढाउन चीन–नेपाल मैत्रीपूर्ण उसु प्रतियोगिता तथा दुवै देशमा अन्तर्राष्ट्रिय उसु प्रतियोगिताहरूको आयोजना पालैपालो संयुक्त रूपमा आयोजना गर्ने र दुवै पक्षद्वारा आयोजित महत्त्वपूर्ण प्रतियोगिताहरूमा भाग लिन टोलीहरू पठाउन सहयोग गर्नेुुका साथै उक्त प्रतियोगिताका लागि आवश्यक उसु निर्णायकहरू व्यवस्थापनमा समेत साझेदारी गर्ने सहमति भएको बताइएको छ । उसु खेललाई खेलको रूपमा मात्र नहेरी दुवै देशमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ विश्वव्यापी रूपमा उसु उत्साहीहरूलाई आकर्षित गर्न उसु पर्यटन गर्ने । (जस्तै, “चिनियाँ कुङ फु रूट–सीकिंग टुर – नेपाल जेन मार्सल आर्ट अभ्यास टुर“) सम्झौता भएको मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष तथा काठमाडौं झेन्जी ट्रेडिसनल आर्चरी एन्ड मार्सल आर्ट्स अर्गनाइजेसनका सचिव महर्जनले जानकारी दिए ।
महर्जनले सम्झौताले नेपालको उसु खेलको विकासमा कोश ढुङ्गाको रूपमा काम गर्ने र खेल पर्यटनको क्षेत्रमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।