नेपाल बुद्धिचाल सङ्घका पूर्व सह अध्यक्ष मासान्त सिंह प्रधान स्मृति खुल्ला फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा रौतहटका फिडे मास्टर रुपेश जयसवाल च्याम्पियन बनेका छन् । रुपेशले ९ चरणको खेलमा ८ अङ्क प्राप्त गरेका थिए । अन्तिम खेलमा अर्का फिडे मास्टर क्षितिज भण्डारीलाई सडेन डेथ टाइब्रेकमा हराएका थिए । उनले  ५१ हजार एक सय रुपैयाँ पाए ।
त्यसै गरी एसियन एमेच्योर च्याम्पियन हेटौडाका कृष्ण थापा साढे ७ अङ्कका साथ दोस्रो भएका छन् । उनले  ३० हजार तीन सय रुपैयाँ पाए ।
ललितपुर स्पोर्टस क्लबद्धारा आयोजित प्रतियोगितामा फिडे मास्टर  क्षितिज भण्डारी तेस्रो भए । उनले  २० हजार दुई सय  रुपैयाँ पाए । त्यस्तै दमक झापाका राजन सुवेदी चौथौँ, ललितपुरका रत्न व्यञ्जनकार पाँचौँ, फिडे मास्टर मनिष हमाल छैटौँ, सुरोज महर्जन सातौँ, सजिन महर्जन आठौँ, बद्रीलाल नेपाली नवौँ र सुर्यकिरण साकोस भक्तपुरका युवा खेलाडी निकेन कुसाथा दसौँ स्थानमा रहे ।
४ दिने प्रतियोगितामा सुरज सिंह, ताप्लेजुङका हरि सुब्बा, धनुषाका सुशील चौधरी, बुटवलका शिखर रेग्मी र काभ्रेका खोमप्रसाद तिमल्सीना क्रमशः उत्कृष्ट एघारौंदैखि पन्ध्रौँ भए । उनीहरूले  पाँच हजार रुपैयाँ पाए ।
त्यसै गरी महिलातर्फ विनीता कपाली प्रथम, दमककी पुनम प्रसाईँ द्वितीय र सिन्दिरा जोशी तृतीय भइन भने यु१६ मा भक्तपुरका मिराज गांसी प्रथम, सानेपाका लक्ष्य मोर दोस्रो र भक्तपुरकै रोनिक बासुकला तेस्रो रहे ।
स्विस लिग ९ चरणको खेल भएको प्रतियोगितामा भेट्रानतर्फ पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार, रेटिङ्ग समूहमा १८०० मुनी माउन्ट एभरेस्ट चेस क्लबका धिरेन राई, १६०० मुनी धरानका विनय राई र १४०० मुनी कैलालीका दीपक भट्ट उत्कृष्ट रहे । उनीहरूले जनही नगद ४ हजार प्राप्त गरे ।
त्यस्तै अनरेटेडतर्फ हेमराज भण्डारी प्रथम, दोलखाका कवीन्द्र सिवाकोटी दोस्रो र साँखुका सूर्यनारायण अवाले तेस्रो भए । उनीहरूले क्रमशः नगद पाँच हजार, तीन हजार र दुई हजार प्राप्त गरे भने कञ्चनपुरका भीमदत्त पाण्डे अनुशासित खेलाडी बनेर नगद ३ हजार जित्न सफल रहे ।
विजयी तथा सहभागी खेलाडीहरूलाई आयोजक क्लबका अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा एक समारोहबिच प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा माननीय जीवनराम श्रेष्ठ, अतिथि साहिलमान सिंह प्रधान, नेपाल बुद्धिचाल सङ्घका वरिष्ठ उपाध्यक्ष विदुरप्रसाद गौतमलगायतले ट्रफि, मेडल, प्रमाण पत्र, नगद पुरस्कार वितरण गरे ।
Comment