सुमन, सजिन, कृष्ण र मनिसको अग्रता 

राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्ड हलमा जारी . सान्तेषमान सिंह प्रधान स्मृति खुल्ला फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन पाँचौँ चरणसम्मको खेल सम्पन्न भयो । पाँच चरण सकिँदा फिडे मास्टर मनि हमाल, हेटौडाका कृष्ण थापा, ललितपुर स्पोर्टस क्लबका सजिन महर्जन र भोजपुरका सुमन राई समान साढे ४ अङ्क सहित संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् ।
पाँचौँ चरणमा मनिष र क्षितिजबिचको खेल बराबरी भयो भने कृष्णले तीन पटक नेपाल च्याम्पियन भैसकेका बद्रीलाल नेपालीलाई माथ गरे । त्यसै गरी सजिनले भक्तपुरका भेट्रान गणेशमान दुवाल र सुमनले युवा निकेन कुसाथालाई निराश पारेका थिए ।
ललितपुर स्पोर्टस क्लबद्वारा आयोजित प्रतियोगितामा फिडे मास्टर क्षितिज भण्डारी, रुपेश जैसवाल, दमक झापाका राजन सुवेदी, ललितपुरका रत्न व्यञ्जनकार, थापाथली चेस पार्कका सुशील चौधरी, ताप्लेजुङका हरि सुब्बा, कञ्चनपुरका भीमदत्त पाण्डे र सुरज सिंहले समान ४ अङ्क जोडेर संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन् ।
४ दिने प्रतियोगितामा विजेताले ५१ हजार एक सय, उपविजेताले ३० हजार तीन सय, र तेस्रोले २० हजार दुई सय रुपैयाँ  पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख ३९ हजार ६ सय रुपैयाँ छ ।
स्विस लिगअनुसार ९ चरणको खेल हुने प्रतियोगितामा ४० जिल्लाका १०१ जना खेलाडीहरू सहभागी छन् ।
Comment