अशोक पाकिस्तान जाँदै

सीओएसएस पाकिस्तान ओपन जी वान तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का बिहीबार पाकिस्तानको इस्लामाबाद जाने भएका छन् ।
नोभेम्बर ६ देखि ८ तारिखसम्म हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अशोक पाकिस्तान जान लागेका हुन् । प्रतियोगितामा अशोकसहित नेपालबाट ६ निर्णायक सहभागी हुँदै छन् । त्यस्तै ६ खेलाडी, तथा १÷१ प्रशिक्षक र आफिसियल पनि सहभागी हुने छन् ।
कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, बाल गीताञ्जली स्कुलका प्रिन्सिपल महेन्द्रराज घिमिरेलगायतले अशोकलाई ट्र्याक सुट प्रदान गरी एक कार्यक्रमबिच मङ्गलवार बिदाइ गरे । पाकिस्तान यात्राको सम्पूर्ण खर्च कागेश्वरी मनोहरा नगरपालिकाले प्रायोजन गरेको अशोकले जानकारी गराए ।
आफ्नो करियरमा अशोकले अनलाइनसहित करिब ६० अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । नेपालमा ग्योरोगी, पुम्से र पारा तीनै विधामा निर्णायकको लाइसेन्स प्राप्त गर्ने अशोक एक मात्र निर्णायक हुन् ।

Comment