प्रज्वललाई स्वर्ण

त्रिकोण उसु क्वानका प्रज्वल लामाले प्रथम कालभैरव खुला जुनियर उसु प्रतियोगिताको पुरुष थाइची छ्वानमा बुधवार स्वर्ण जितेका छन् । निन्जा उसु क्वानका लब्सन आले मगर दोस्रो भए ।
कालभैरव उसु क्वानद्वारा आयोजित प्रतियोगिताको महिला थाइची छ्वानमा ड्रागन उसु क्वानकी डिना तामाङले काठमाडौँ उसु क्वानकी ऐश्वरी भट्टलाई पछि पार्दै स्वर्ण जितिन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत छाङ छ्वानको पुरुषमा त्रिकोणका विजय श्रेष्ठ र महिलामा ड्रागनकी सारा तामाङ, छुची छाङ छ्वानको पुरुषमा पशुपति कैलाश उसु क्वानका निशान थापा मगर र महिलामा ड्रागनकी लाक्पा डोल्मा लामा तथा छुची नान् छ्वानको पुरुषमा ड्रागन पासाङ लामा र महिलामा काठमाडौँकी ममता सुनुवार राईले पहिलो स्थान हात पारे ।
प्रतियोगिताको नेपाली काँग्रेसका युवा नेता पूर्व मन्त्री गगनकुमार थापाले एक कार्यक्रमबिच उद्घाटन गरे । थाउलोमा १८ तथा सान्सौंमा २० गरी ३८ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । दुई दिने प्रतियोगितामा २ सय १० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
Comment