बक्सिङ टोली फर्कियो

एएसबीसी यूथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी भई ३ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मङ्गलवार स्वदेश फर्किएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य एवं नेपाल बक्सिङ सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवाले, प्रवक्ता श्याम अवाले, बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगरलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
छ खेलाडीले प्रतिस्पर्धा गरेकोमा मङ्गलवार स्वदेश फर्किने तीनै खेलाडी पदक विजेता हुन् । अगस्ट २० देखि ३१ तारिखसम्म दुबइमा भएको प्रतियोगितामा ६ खेलाडीसहित ११ सदस्यीय टोलीले भाग लिएका थिए । ३ खेलाडीसहित ७ सदस्यीय टोली भने यसअघि नै फर्किसकेको नेपाल बक्सिङ सङ्घले जनाएको छ ।
पुरुष जुनियर ५४ केजीमा छिरिङ वाङदी शेर्पाले कांस्य जिते । क्वाटर फाइनलमा कुवेतका खेलाडीलाई ५–० ले पराजित गर्दै छिरिङले सेमिफाइनलमा स्थान बनाएका थिए । सेमिफाइनलमा छिरिङ ताजकिस्तानका खेलाडीसँग चुके । पछि यो स्पर्धामा ताजकिस्तानका खेलाडीले स्वर्ण नै जिते ।
घरेलु प्रतियोगितामा चाबहिलको बक्समान्डुबाट खेल्ने छिरिङको यो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । विमानस्थलमा भएको स्वागत कार्यक्रममा छिरिङले प्रतियोगिताका लागि धेरै मेहनत गर्नुका साथै ट्रेनिङमा बक्सिङ सङ्घ र गुरुहरूले पनि धेरै सहयोग गरेका कारण सफलता प्राप्त भएको बताए । छिरिङले सफलताले आगामी दिनमा अझ बढी राम्रो गर्न हौसला बढेको बताउँदै अबको लक्ष्य यूथ च्याम्पियनसिप रहेको बताए ।
महिलातर्फ जुनियर ५२ केजीमा स्वस्तिका तिरुवा तथा यूथ ५७ केजीमा नारिका राईले कांस्य हात पारे । पहिलो चरणमा वाइ पाउँदै सेमिफाइनलमा पुगेपछि दुवैको कम्तीमा कांस्य पदक सुनिश्चित भएको थियो । सेमिफाइनलमा दुवै भारतीय खेलाडीले पराजित भए । कांस्य विजेता खेलाडी त्रयले १ हजार अमेरिकी डलर नगद पुरस्कार जिते । बाँकी तीन खेलाडी सुलभ माली, इन्द्रबहादुर सुनार र सुदेन गिरी पहिलो चरणबाटै बाहिरिएको पदक विजेता खेलाडीसँगै स्वदेश फर्किएका प्रशिक्षक दीपक महर्जनले जानकारी गराए ।
अध्यक्ष अवालेले खेलाडीको सफलताले बक्सिङ परिवार मात्र नभई सिङ्गो मुलुकलाई गौरवान्वित तुल्याएको धारणा व्यक्त गर्दै नेपाली खेलाडी पनि कोही भन्दा कम छैनन् भन्ने सन्देश दिन सफल भएको बताए ।
मुख्य प्रशिक्षक थापाले पछिल्ला केही दिनमा उल्लेख्य प्रगति गर्दै आएकोमा आगामी दिनमा यो प्रगतिले अझ माथिल्लो उचाइ पाउने विश्वास व्यक्त गरे ।
Comment