राजुको प्रशिक्षणमा ललितपुर लयमा, सनोज प्रशिक्षित बुटवल पनि प्ले अफमा

खुकुरी एनएसएलमा अन्तिम चारमा प्रवेश गर्ने टोलीको टुङ्गो लागेको छ । धनगढी एफसी, काठमाडौँ रेजर्स ,ललितपुर एफसी र बुटवल लुम्बिनी एफसी अन्तिम चारमा प्रवेश गरेका  छन् ।
लिग चरणको अन्तिम खेलमा काठमाडौँ रेजर्स र चितवन एफसी बिचको खेल अर्थ हीन भएको छ । धनगढी एफसी र काठमाडौँ रेजर्स शीर्ष दुईमा प्रवेश गरेका छन् । यी दुईले क्वालीफायर खेल खेल्ने छन् । शनिवारको खेलमा जित हात पार्दै ललितपुर एफसी र बुटवल लुम्बिनी एफसी पनि प्ले अफमा प्रवेश गरे  । यी दुईले इलिमेनेटेर खेल्ने छन् । प्रदीप हुमागाईँ पछि टोलीको जिम्मेवारी सम्हालेका राजु तामाङको मुख्य प्रशिक्षणमा ललितपुरले प्रतियोगितामा सानदार कम ब्याक गरेको हो ।


शनिवारको पहिलो खेल भने नाटकीय रहेको थियो । पहिलो खेलमा ललितपुर विराटनगर सिटी एफसीलाई ४–०ले पराजित गर्न सफल भयो । ३६ औ मिनेटमा अञ्जन विष्टको गोलमा ललितपुरले अग्रता लिएको थियो । वैकल्पिक खेलाडी विमल रानाले ७२ औ मिनेटमा गोल गरे ।
दिवाकर चौधरीको लामो क्रसमा विराटनगर गोल गर्न चुके पछि लगत्तै प्रत्याक्रमणमा विमल गोल गर्न सफल भएका थिए । विराटनगरले रेफ्रि निर्णयमा असहमति जनाए पछि लामो समय खेल अवरुद्ध भएको थियो ।

८१ औ मिनेटमा अञ्जनले तेस्रो गोल गरे । ८५ औ मिनेटमा विजय धिमाल रातो कार्ड पाएर बाहिरिनु विराटनगरका अर्को दुर्भाग्य साबित भयो । इन्जुरी समयको तेस्रो मिनेटमा ललितपुरका नुर्लान नोभ्रोजुभ जाहिदले गोल गरे । पराजित विराटनगरका प्रशिक्षक यन लले नेपाली रेफ्रिको स्तरको आलोचना गरेका छन् । खेलमा ललितपुरका अञ्जन विष्ट सुपर प्लेयर अफ द म्याच तथा द्रोण थापा इमर्जिङ प्लेयर घोषित भए ।
अर्को खेलमा सनोज श्रेष्ठको प्रशिक्षणमा रहेको लुम्बिनीले सुमन लामाले ८० औ मिनेटमा गरेको गोलले धनगढी एफसीलाई १–० ले हरायो । सुमन इमर्जिङ प्लेयर घोषित भए भने विलियम ओपोकु सुपर प्लेयर अफ द म्याच भए ।

Comment