दोषीलाई कार्वाही र निःशुल्क उपचारको माग

ralley

नेपाल सोतोकान कराते संघ (जेएसकेए) ले एसिड आक्रमणमा परी गम्भीर घाइते भएकी आफ्ना खेलाडी संगीता मगरलाई एसिड प्रहार गर्ने दोषीलाई तुरुन्त पक्राउ गरी कार्वाही र निःशुल्क उपचारको माग गर्दै बिहीबार काठमाडौं जिल्ला प्रशासन कार्यालय, बबरमहलमा ज्ञापनपत्र बुझाएको छ ।
सोतोकान कराते संघका अध्यक्ष विष्णुबहादुर कार्कीले संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पालगायतका पदाधिकारीहरुको उपस्थितिमा काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याललाई ज्ञापनपत्र बुझाए ।
ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्ष कार्कीले यस्तो अमानवीय कार्य हाम्रो खेलाडीलाई मात्र नभइ कसैलाई पनि नहोस् भनी कामना गर्दै दोषीलाई तुरुन्त पक्राउ गरी कार्वाहीका साथै पीडित खेलाडीको निःशुल्क उपचारका लागि प्रमुख जिल्ला अधिकारी अर्याललाई आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी अर्यालले दोषी पत्ता लगाउन डिएसपीको कमान्डमा अनुशन्धान टोली गठन भइसकेको र उपचारका लागि सम्बन्धित निकायमा पत्रचार भइसकेको बताए ।
एसएलसी परीक्षाको तयारीका सिलसिलामा गत आइतबार बसन्तपुरको एक ट्युसन सेन्टरमा रहेका बेला संगीता अपरिचित युवाको एसिड प्रहारबाट गम्भीर घाइते भएकी थिइन् । त्यो एसिड आक्रमणमा संगीतासहित सीमा बस्नेत र हेमु पनि घाइते भएका थिए ।
संगीताले विभिन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको कुमुते र कातामा स्वर्णसहित थुप्रैपदक जितिसकेको सोतोकान कराते संघले जनाएको छ ।
ज्ञापनपत्र बुझाउनुअघि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणबाट ¥याली निकालिएको थियो । ¥याली त्रिपुरेश्वर चोक, सुन्धारा, न्युरोड गेट, रत्नपार्क, भद्रकाली, माइतीघरहुँदै बबरमहलमा पुगेपछि टुंगिएको थियो । ¥यालीमा विभिन्न आठ विद्यालयका छात्र÷छात्रा, सोतोकान कराते संघका अध्यक्ष कार्की, महासचिव शेर्पालगायतका पदाधिकारी, खेलाडी, संगीताका बुवा, नेपाल कराते महासंघका महासचिव एवं वादोरियो करातेका प्रमुख प्रशिक्षक हरिशरण केसीलगायतको सहभागिता थियो ।

Comment