अन्तर वडा टेबल टेनिसलाई गङ्गादेवी वस्त्रालयको साथ

स्पिन इभेन्ट प्रालि को आयोजनामा हुने भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगितालाई गङ्गादेवी वस्त्रालयले सह–प्रायोजन गर्ने भएको छ ।
त्यस सम्बन्धी सम्झौता पत्रमा स्पिनका अध्यक्ष सुमन शाक्य र वस्त्रालयका प्रोप्राइटर निम जोशीले आइतबार आयोजित पत्रकार सम्मेलनमा हस्ताक्षर गरे । सम्झौता अनुसार वस्त्रालयले आयोजकलाई ५ लाख ८५ हजार रुपैयाँ उपलब्ध गराउने छ । कुल लागत १९ लाख ५० हजारमा वस्त्रालयले ३० प्रतिशत रकम उपलब्ध गराउन लागेको हो । यसअघि आयोजकले मुख्य प्रायोजकका रूपमा भ्याली कन्स्ट्रक्सन सम्झौता गरिसकेको छ । भ्यालीले आयोजकलाई ९ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराउने छ ।
सोही अवसरमा डिएचएस स्पोर्ट्स नेपालले प्रतियोगिताका लागि अफिसियल बल प्रदान गर्ने पनि जानकारी दिइयो । डिएचएसका प्रमुख कार्यकारी अधिकृत राजेन महर्जनले टेबल टेनिसका पूर्व मुख्य प्रशिक्षक एवं प्राविधिक निर्देशक विनोद शाक्यलाई बल हस्तान्तरण गरे ।
प्रतियोगिता सोमबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु हुँदै छ । प्रतियोगितामा पुरुषमा २६ टिमका ४ सय ३३ खेलाडीको सहभागिता रहने छ । महिलामा ८ टिमका ९० खेलाडी सहभागी हुने छन् । पुरुष÷महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि र ४५ वर्षमाथि गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।
पुरुष÷महिला सिंगल्सका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । शीर्ष १६ वरीयतामा रहेका खेलाडीले सहभागिताको अवसर पाउने छैनन् । भेट्रानमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पाउने छन् । टिम च्याम्पियन वडालाई ५० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता चैत ७ गतेसम्म चल्ने छ ।
Comment