उसुकर्मी चन्द्रको उपाध्यक्षमा उम्मेदवारी

लामो समय देखि अमेरिकाको डिसी महानगर क्षेत्रमा बस्दै आएका एनआरएनए अमेरिकाको खेलकुद संयोजक चन्द्र लामाले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
लामाले आफ्नो उम्मेदवारी ल्होसार पर्वको पावन अवसरमा घोषणा गरेका हुन ।
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति अमेरिकाको आगामी निर्वाचनको लागि उनले अहिले नै उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनए एनसिसी युएसएको सदस्यता लिने अन्तिम मिति फेब्रुअरी १५ ,२०२१ रहेको छ । उनले सबैलाई सदस्य लिन अभियान चलाएका छन् र निकै सदस्यता बनाएका छन् ।
अमेरिकाका नेपाली समुदायका ठुला सङ्घ÷संस्थाहरूसँग आबद्ध हुनुको साथै उनले खेलकुदमा विशेष गरी युवाहरूलाई परिचालन गर्न ठुलो भूमिका निर्वाह गर्दछन् । उनी खेलकुद क्षेत्रमा निकै सक्रिय रहेकोले उनको जनसम्पर्क निकै प्रगाढ छ ।
 खेलकुदलाई प्रवर्द्धन र विशेष गरी युवा वर्गलाई प्रोत्साहन गर्न कहिले पछि हट्दैनन् ।
उनले करिब २ दशक अमेरिकाको डिसी क्षेत्रमा बिताएका छन् । उनले अमेरिकामा जन्मेका दोस्रो पुस्तालाई खेलकुदमा संलग्न गराई अमेरिकाबाट युरोप र मातृभूमि नेपालमा लगेर खेलकुद प्रतियोगितामा युवा पीढीलाई सहभागिता गराई रहेका छन् ।
साथै उनले खेलकुदको माध्यमबाट दुई देश बिचको सेतुको काम गराउन सफल भएका छन् । युवा तथा खेलकुदलाई अझ सशक्त र मजबुत बनाउन आफूले उपाध्यक्ष पदमा उम्मेदवार दिने घोषणा गरेका छन् ।
सबैको सहयोग र समर्थनको अपेक्षा सहित सबैलाई आफूलाई मतदान गर्न अनुरोध गरेका छन् ।
पहिलो पुस्ताका उसु खेलाडी चन्द्र नेपालमा रहँदा यहाँको उसु पनि माथिल्लो उचाइमा पुगेको थियो । उनकै प्रशिक्षणका कारण नेपालमा थुप्रै स्टार खेलाडीको  उदय भएको थियो । नेपालले ५० को दशकमा दक्षिण एसियाली उसुमा एकलौटी प्रभाव जमाउँदा चन्द्र नेपाली उसुको प्रभावकारी व्यक्ति मानिन्थे । खेलकुद न्युजडटकमसंगको कुराकानीमा लामाले आफ्नो उम्मेदवारी  अमेरिकामा रहेका सम्पूर्ण खेलकर्मीहरूको समेत प्रतिनिधित्व भएको बताउँदै सबै खेलकर्मीको आफूलाई साथ रहने बताए । चन्द्र अमेरिकामा रहँदा पनि उसु खेलमा सक्रिय रहेका छन् ।
Comment