आहारारा गोल्डकपको उपाधि भिडन्तमा मनाङमस्र्याङ्दी र थ्रीस्टार क्लब

mmc final
प्रेमनारायण न्यौपाने
पोखरा
चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टार क्लब र मनाङमस्र्याङ्दी क्लब पोखरामा जारी १३ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता–२०७१ को फाइनलमा भिड्ने भएका छन्। शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा सुदूरपश्चिमाञ्चल फुटबल क्लबलाई २–० ले हराएसँगै मनाङमस्र्याङ्दी क्लब र थ्रीस्टार क्लब उपाधिको लागि भिड्ने निश्चित भएको हो। मनाङको जीतमा अनिल गुरुङ र सुजल श्रेष्ठले एक–एक गोल गरेका थिए। योसँगै व्यक्तिगत समान तीन गोल गरेका अनिल र सुजल सर्वाधिक गोलकर्ताको सूचीमा छन्।
एन्फा यु–१६ का अधिकांश खेलाडी संलग्न सुदूपश्चिमाञ्चल एफसीलाई हराउन भने मनाङले ठूलो सङ्घर्ष गर्नुप¥यो। युवा खेलाडी, युवा जोशले भरिएको सुदूपश्चिमाञ्चलले पूरै ९९ मिनेट मनाङलाई दबाब दिएको थियो। हारका बाबजुत पनि लोभलाग्दो प्रदर्शन गरेका सुदूरपश्चिमाञ्चलका मिडफिल्डर हेमन्त थापामगर म्यान अफ दी म्याच घोषित भए। १२ मिनेटमै सुदूरपश्चिमाञ्चलले राम्रो अवसर गुमायो। डिबक्सभित्र प्राप्त वान भर्सेस वान बलमा आभाको प्रहार फितलो बन्यो। हेमन्त थापाले निकालेको उत्कृष्ट पासमा उनको प्रहार सेकेण्डबार हुँदै बाहिरियो।१७ मिनेटमा मनाङको लागि अनिल गुरुङले गोलको खाता खोले। दीपक राईको लामो क्रसमा सुजलले मिलाइदिएको हेडपासलाई सदुपयोग गर्दै अनिलले डिबक्सभित्रबाट उत्कृष्ट ढंगले एक्रोवेटिक प्रहार गर्दै गोल गरेका हुन् । ३४ औ मिनेटमा मनाङले दोस्रो गोल गर्ने अवसर गुमायो।विशाल राईको प्रहारलाई विपक्षी गोलकिपर वीरेन्द्र चन्दले पञ्च गर्दा रिबाउण्ड भएको बललाई शिव श्रेष्ठले डिबक्सलाइनबाट Çिलक गरे पनि बल क्रसबारमाथिबाट गयो।तीन मिनेट थपिएको फस्ट हाफको इन्जुरी समयको दोस्रो मिनेटमा अनिलले खाली पोस्टमा गोल गर्न सकेनन्। गोलकिपरसँग जम्काभेटको बीचबाट डोडोजले मिलाइदिएको बललाई अनिलले हेड गरे पनि डिÇलेक्ट हुँदै बल क्रसबारमाथिबाटै गयो।
सेकेण्ड हाफमा सुदूरपश्चिमाञ्चलले विपक्षीविरुद्धको आक्रामक खेल प्रदर्शनलाई जारी नै राख्यो। ५३ मिनेटमा उसले बराबरी गोल गर्ने अवसर पाएको थियो तर लावलको वानटच भलि क्रसबारमाथिबाट गयो।उनलाई गौरव बुढाथोकीले पासमा मिलाइदिएका थिए।५५ मिनेटमा सुदूरपश्चिमाञ्चलकै शिव सुवेदी वान भर्सेस वान बलमा गोल गर्न चुके।उनको बललाई डिबक्सभित्र मनाङका गोलकिपर विशाल श्रेष्ठले विफल पारिदिए।८० मिनेटमा दिनेश राजवंशीको लोमो पासमा शिव सुवेदीले डिबक्सभित्र एक्रोवेटिक प्रहार गरे पनि गोलकिपरले डाइभ हानेर रोकिदिए।
८६ मिनेटमा डोडोजको वान भर्सेस वान बललाई विपक्षी गोलकिपर वीरेन्द्र चन्द डिबक्सबाहिरै आएर विफल पारिदिए।एक गोलले पछि परे पनि दर्शकको अपार समर्थनमा जोशिलो र आक्रामक प्रदर्शन गर्दै विपक्षीलाई दबाब दिएको सुदूरपश्चिमाञ्चलले छ मिनेट थपिएको इन्जुरी समयको दोस्रो मिनेटमा दोस्रो गोल खायो।सुलभ मास्केको क्रस अनन्त तामाङले हेड गर्दा डिÇलेक्ट भएको बललाई सुजल श्रेष्ठले डिबक्सभित्रैबाट वानटचमा जाली चुमाए। यसरी सिनियर र बलियो टीमविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दागर्दै दुई गोल खाँदै सुदूरपश्चिमाञ्चल सेमिफाइनलबाट बाहिरियो।यसअघि राष्ट्रिय लिगको पहिलो खेलमा पनि मनाङसँग ऊ ३–० ले पराजित भएको थियो।
हारपछि सुदूरपश्चिमाञ्चल एफसीका प्रशिक्षक किरण श्रेष्ठले मनाङजस्तो बलियो टीमविरुद्ध आफ्ना खेलाडीले ज्यान दिएको खेलेको भन्दै खेलाडीको प्रशंसा गरे।गेममा मनाङलाई टोटल्ली डोमिनेट गरे खेलेको दाबी गर्दै श्रेष्ठले भने–‘अनुभवी खेलाडीको सामु राम्रो खेल्दाखेल्दै पनि हारियो। सबैले राम्रो खेले।’
जीतपछि मनाङका राजुकाजी शाक्यले अनुभवका कारण नै विपक्षीविरुद्ध आफूहरूले फाइदा उठाउन सफल भएको प्रतिक्रिया दिए।उनले भने–‘योङ प्लयेरसँग खेल्न गाह्रो हुन्छ, आज टफ म्याच भयो, उनीहरूसँग त्यत्ति भरपर्दो स्ट्राइकर थिएन, हामीले अनुभवको कारण त्यसैको फाइदा उठाउन सफल भयौं।’ उनले थ्रीस्टारविरुद्धको फाइनल खेल पनि टफ नै हुन दाबी गरे। ‘थ्रीस्टार सेट टीम हो, त्यस्तो टीमसँग खेल्न त्यत्ति सजिलो छैन, हार्ड गेम खेल्दा एउटा खेलाडीको कम्तीमा चार–पाँच केजी तौल घट्छ, इनर्जी सेभ गर्न केही समय चाहिन्छ तर हामी कन्टिन्यु हार्ड गेम खेल्नुप¥यो’–उनको भनाइ थियो–‘ तर पनि हामीले उपाधि जित्छौं भनेर आएका हौं, जित्छौं।’
सो खेलमा मनाङका मबाइल स्टेफेन र रुपेश केसी तथा सुदूरपश्चिमाञ्चल एफसीका आकाश थापालाई फिफा रेफ्री सुदिश पाण्डेले पहेकलोकार्ड देखाएका थिए।
शनिबार चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टार क्लब र मनाङमस्र्याङ्दी क्लबबीच फाइनल खेल हुनेछ। हालसम्म दुवै टीमले आहा गोल्डकपमा तीन–तीनपटक उपाधि जितेका छन्। थ्रीस्टारले पाँचौं, नवौं र ११ औं तथा मनाङले दोस्रो, तेस्रो र १० औं संस्करणमा उपाधि जितेका थिए। आहा गोल्डकपको इतिहासमा यी दुई टीम दुईपटकमात्र आमनेसामने भएका छन् र दुवै भेटमा थ्रीस्टारले बाजी मारेको छ। मनाङलाई जित्दा थ्रीस्टारले दुवैपटक उपाधि पनि जितेको छ।यी दुईबीचको पछिल्लो भेट भने पोखरा कपमा भएको थियो। फाइनलमा मनाङ २–१ ले विजयी भएको थियो।
१३ औं संस्करणमा १० खेलको समाप्तिसम्म आइपुग्दा हालसम्म नौ सय ९२ मिनेटको खेलमा ३० तथा टाइब्रेकरमा सात गोल भएको छ। यस्तै ३४ वटा एलो तथा एक रेड कार्ड पनि वितरण भएको छ। छ खेल खेलाएका फिफा रेफ्री सुदिश पाण्डेले १७ एलो तथा लव खत्रीले १७ एलो र एक रेडकार्ड वितरण गरेका छन्। उद्घाटन खेलबाहेक सम्पूर्ण खेल निर्धारित समयमै सकिए। एक गोलमात्र आत्मघाती भयो। डिफेण्डिङ च्याम्पियन सहारा क्लब पहिलो चरणबाटै बाहिरियो। युरोपबाट पहिलोपटक राम्रो टीम गेम खेल्न आएको भनिए पनि अल्डरसट टाउन एफसीको प्रदर्शन तारिफयोग्य रहेन। यही प्रतियोगितामा आहा गोल्डकपको इतिहासमै सर्वाधिक फराकिलो अन्तरको हार भयो। छिमेकी देश भारतबाट आएको कञ्चनजंगा एफसीले मनाङविरुद्धको खेलमा सबैभन्दा धेरै (७–०) गोल खाएर कमजोर टीम सावित भयो। यहीबीचमा जताततै गोल्डकप नै गोल्डकप भएकोले आहा गोल्डकपको इतिहासमै सम्भवत आयोजकले पहिलोपल्ट समयमै टाइसिट दिन असमर्थ भयो। त्यही उतारचढावका कारण फाइनल म्याचको अघिल्लो दिन रेस्ट दिने प्रचलन यसपटक क्रमभंग हुन पुग्यो।
हिमश्री फूड्स प्रालिको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा विजेता टीमलाई नगद तीन लाख एक हजार तथा उपविजता टीमलाई नगद दुई लाख एक हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै उत्कृष्ट खेलाडीलाई टिभिएस मोटरसाइकल प्रदान गरिनेछ भने विधागत रूपमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर र फेयर प्ले टीमलाई जनही १० हजार तथा हाइस्कोररलाई नगद १५ हजार पुरस्कार प्रदान गरिनेछ।
तस्विर सौजन्य ः उमेश पुन

Comment