कञ्चनजंगा एफसीविरुद्ध मनाङ मस्र्याङ्दीको गोल वर्षा

IMG_89331111edited
प्रेमनारायण न्यौपाने
पोखरा
लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले पोखरामा जारी १३ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता–२०७१ अन्तर्गत शुक्रबार भएको खेलमा छिमेकी राष्ट्र भारत सिलीगुढीको कञ्चनजंगा फुटबल क्लबविरुद्ध गोलको वर्षा गरेको छ। पोखरा रड्डशालामा भएको पहिलो चरणको अन्तिम खेलमा पाहुना टीमलाई ७–० को भारी अन्तरले पराजित गरेको हो। मनाङको जीतमा म्यान अफ दी म्याच विशाल राई र सुजल श्रेष्ठले दुई–दुई तथा शिव श्रेष्ठ, सुशील केसी र कृष्ण कुँवरले एक–एक गोलको योगदान दिएका थिए।जीतसँगै तीनपटकको आहा गोल्डकप विजेता टीम मनाङ क्वाटरफाइनलमा प्रवेश गरेको छ।
मनाङले कञ्चनजंगाविरुद्ध पहिलो हाफमा मात्र चार गोल तथा दोस्रो हाफमा तीन गोल गरेको थियो। जम्मा ९४ मिनेटको खेलमा कञ्चनजंगा एफसीका गोलकिपर नान्जु मुजिमदार विपक्षीको प्रहार बचाउन जति व्यस्त देखिन्थे त्यसको तुलनामा मनाङका गोलकिपर विशाल श्रेष्ठ कम व्यस्त देखिन्थे। टीमको जीतमा मनाङका कप्तान अनिल गुरुङ र डोडोजले प्लेमेकरको राम्रो भूमिका निर्वाह गरेका थिए। कञ्चनजंगा एफसीसँग एकवर्षको लागि अनुबन्धित राजकुमार घिसिङले कुनै पनि बेला चमत्कार देखाउन सकेनन्। चार मिनेटमा मनाङले विपक्षीविरुद्ध पहिलो आक्रमण गरेको थियो। सुजल श्रेष्ठको कर्नरलाई कञ्चनजंगाका डिफेण्डर निपेश शर्माले हेडक्लियर गरिदिएका थिए। नौ मिनेटमा मनाङले शिव श्रेष्ठको गोलमार्फत अग्रता लियो।हेम गुरुङको लामो पासलाई डिफेन्स विट गर्दै डिबक्सनजिकैबाट पोस्टमा पावर हेडिङ गरेका थिए, जुन बल गोलकिपरलाई जिल्याउँदै जाली चुमेको थियो।
११ मिनेटमा सुजल श्रेष्ठको पासमा कप्तान अनिल गुरुङको वानटच प्रहार क्रसबारमाथिबाट गयो।१७ मिनेटमा सुशील केसीको क्रसमा शिव श्रेष्ठको प्रहार निपेश शर्माले असफल पारिदिए।२० मिनेटमा अनिल गुरुङले डिबक्सभित्रबाट मिलाएको व्याकपासमा डोडोजको पावर भलि क्रसबारमाथिबाट बाहिरियो।३१ मिनेटमा विशाल राईले टीमको लागि दोस्रो गोल थपे। अनिल गुरुङ र विपक्षी डिफेण्डरबीचको घम्साघम्सीमा डिफेण्डरले क्लियर गर्न नसकेको बललाई विशालले चलाखीपूर्वक सिक्सयार्ड नजिकैबाट गोलको दिशा दिए। ३३ मिनेटमा सुजलको प्रहार सेकेण्डबार हुँदै बाहिरियो। अनिलको लामो ग्रासबलमा सुशील केसी वानटचमा गोल गर्न अलमलिएपछि हतारमा सुजलले हानेका थिए।
३८ मिनेटमा सुजल श्रेष्ठले टीमको लागि तेस्रो गोल गरे। अनिल गुरुङको सहयोगमा डोडोजले मिलाइदिएको पासमा उनले सेकेण्डबारमा गोल गरेका थिए। एकोहोरो तीन गोल खाएको कञ्चनजंगा एफसीको डिफेन्सलाइन अलमिलँदा ३९ मिनेटमा मनाङले पुनः अर्को गोल थप्यो।डिबक्सभित्र अनिलले डोडोजलाई, डोडोजले अनिललाई, अनिलले डोडोज हुँदै अतिमा डोडोजकै पासमा विशाल राईले टर्न गर्दै व्यक्तिगत दोस्रो तथा टीमको लागि चौथो गोल गरेका थिए।४१ मिनेटमा विशालले ह्याट्रिक गर्ने अवसर गुमाए। शिव श्रेष्ठको लामो फ्रिकिकमा विशालले फस्टबारमा गरेको हेडिङ बारमा लागेर फर्कियो। पहिलो हाफमा कञ्चनजंगाले विपक्षीविरुद्ध मात्र एउटा सशक्त प्रहार गरेको थियो। रिङ्देन लामाले करिब ४५ यार्डबाट हानेको सीधा फ्रिकिक प्रहार मनाङका गोलकिपर विशाल श्रेष्ठले मुस्किलले बचाए।
दोस्रो हाफमा मनाङले केही खेलाडीलाई आराम दिएर बेन्चमा रहेका खेलाडीलाई मैदानमा पठायो। प्रशिक्षक राजुकाजी शाक्यले सुरुमै डिफेण्डर मबाइल स्टेफेनको स्थानमा कृष्ण कुँवरलाई पठाए।त्यसको तीन मिनेटमा मनाङको लागि सुशील केसीले पाँचौं गोल गरे। वान भर्सेस वान बललाई उनले डिबक्सनजिकैबाट पोस्टमा Çिलक गरेका थिए। ५० मिनेटमा सुजलको क्रसमा सुशीलको हेड डिÇलेक्ट हुँदै फस्टबारबाट बाहिरियो। ५५ मिनेटमा डोडोजको पासमा सुशीलको तेस्रो प्रहार किपरले पञ्च गरेर विफल पारिदिए। ६२ मिनेटमा मनाङका शिव श्रेष्ठको स्थानमा रुपेश केसी तथा ७३ मिनेटमा सुशील केसीको स्थानमा निराजन मल्ल मैदान मैदान छिरे।
ह्याट्रिकको तयारीमा रहेको विशाल राईले ७५ र ८६ मिनेटमा मिनेटमा दुईवटा राम्रा मौका पाएका थिए तर त्यसमा विपक्षी गोलकिपर बाधक बने। विपक्षी टीमको लगातारको आक्रमणपछि थकित देखिएको कञ्चनजंगाविरुद्ध मनाङले ८८ मिनेटमा छैटौं गोल ग¥यो। कप्तान अनिल गुरुङको पासमा सुजल श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गरे। ९० मिनेटमा अनिलकै पासमा सब्स्टिच्युट डिफेण्डर कृष्ण कुँवरले ओभरल्याप गर्दै डिबक्सभित्रबाट गरेको क्रसबलले सेकेण्डबारमा जाली चुमेको थियो।
हारपछि कञ्चनजंगा एफसीका प्रशिक्षक दिनकर क्षेत्रीले तयारी कम भएकोले फराकिलो अन्तरमा पराजित हुनुपरेको प्रतिक्रिया दिए। उनले आयोजकले निश्चित समय नदिँदा पाँचजना खेलाडी छुटेको बताए। उनको भनाइ थियो–‘आयोजकबाट पहिलो समय पाएपछि हामीले पाँच खेलाडीलाई छुट्टि दियौं, त्यसपछि फेरि आयोजकले अर्को समय दियो। हतार–हतार हिँड्नुपर्दा सबै खेलाडीसहित पूर्ण तयारी गर्न सकिएन।’ उनले नेपालको बलियो र उत्कृष्ट टीमसँग खेल्नुपर्दा पनि आफूहरूलाई गाह्रो भएको बताए।
जीतपछि मनाङका प्रशिक्षक राजुकाजी शाक्यले फस्ट हाफमा खेलाडीको मेहनतले धेरै स्कोर भएको बताए। उनले विपक्षी स्ट्राइकरलाई आफूहरूले खुलेर खेल्न नदिएको दाबी गरे।उनले भने–‘खेल जित्छौं भन्ने थियो तर यत्तिको अन्तरमा जित्छौं भन्ने थिएन।’ क्लब सम्हालेपछि तेस्रो जीत हात पारेका उनले इन्जुअर्ड खेलाडीलाई सेकेण्ड हाफमा रेस्ट दिएको बताए।क्वाटरफाइनलमा आर्मीसँगको म्याच प्रतिस्पर्धा हुने उनको भनाइ थियो। सो खेलमा कचनजंगा फुटबल क्लबका प्रल्हाद राईलाई फिफा रेफ्री लव खत्रीले एलोकार्ड देखाएका थिए।
हिमश्री फूड्स प्रालिको मुख्य प्रायोजनमा फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टीमलाई नगद तीन लाख एक हजार तथा उपविजता टीमलाई नगद दुई लाख एक हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै उत्कृष्ट खेलाडीलाई टिभिएस मोटरसाइकल प्रदान गरिनेछ भने विधागत रूपमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर र फेयर प्ले टीमलाई जनही १० हजार तथा हाइस्कोररलाई नगद १५ हजार पुरस्कार प्रदान गरिनेछ।
शनिबार पोखरामा सर्वाधिक पाँचपटकको नेपाल पुलिस क्लब र नव जनजागृति युवा क्लब सिमराबीच पहिलो क्वाटरफाइनल खेल हुने प्रतियोगिता संयोजक हरिराम गुरुङले जानकारी दिए।
तस्विर सौजन्य ः उमेश पुन

Comment