सेन्ट जेभियर्सको उपाधि यात्रामा शुभम नायक

आयोजक सेन्ट जेभियर्स स्कुल, गोदावरीले २३ औं फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।गोदावरीस्थित घरेलु मैदानमा गत संस्करणको उपविजेता सेन्ट जेभियर्सले डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) लाई टाइब्रेकरमा ४–३ गोलले पराजित ग¥यो । निर्धारित ६० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । सेन्ट जेभियर्सका गोलरक्षक शुभम सिलवाल फाइनल खेलको ‘म्यान अफ द म्याच’ चुनिए ।

तेश्रो स्थानका लागि भएको खेलमा मोरान मेमोरियल स्कुल, महेशपुर, झापाले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई ४–२ गोलले हरायो । मोरानबाट सम्भव चारै गोल युवराज राजवंशीले गरे । एमआईएसका सबल महर्जन र जेनिश दवाडीले १–१ गोल फर्काए ।

एलएका प्रशुन तुलाधर उत्कृष्ट खेलाडी घोषित भए । गोलरक्षकमा आयोजकका शुभम सिलवाल तथा डिफेन्डरमा एलएका सुरज तामाङ उत्कृष्ट ठहरिए । प्रतियोगिताभर १६ गोल गर्दै तेश्रो भएको मोरानका युवराज राजवंशी सर्वाधिक गोलकर्ता बने । आयोजकका ज्ञान गुरागाईं उत्कृष्ट प्रशिक्षक तथा एमआईएसका बेदराज ढुंगाना ‘मोस्ट प्रोमिसिङ प्लेयर’ भए ।

विजेतालाई एलएका प्रिन्सिपल मुकुन्दराज शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुई सातासम्म चलेको प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Comment