पूर्व अन्तर्राष्ट्रिय खेलाडी गुरुङलाई सम्मान गरिने

damber gurung

पोखरा
चार दशकसम्म नेपाली लोकसंस्कृतिको फाँटमा सर्पित लोकस्रस्टा कल्याण शेरचनको स्मृतिमा गठित कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा यही माघ १८ देखि २४ गतेसम्म पोखराको बगरस्थित टुँडिखेलमैदानमा सञ्चालन हुने कल्याण शेरचन समृति सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ को तयारी पूरा भएको छ।
प्रतियोगितामा विजेता टीमलाई नगद ६५ हजार पाँच सय ५५ तथा उपविजेता टीमलाई नगद ३५ हजार पाँच सय ५५, ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
यस्तै उत्कृष्ट खेलाडीलाई नगद तीन हजार पुरस्कार प्रदान गरिने छ। शेरचनको निधन भएको दिन पारेर २४ गते समापन कार्यक्रम तथा सम्मान कार्यक्रम गरिने प्रतिष्ठानका अध्यक्ष क्या. पूर्णबहादुर गुरुङ ह्योल्मोले जानकारी दिए।
करिब पाँच लाख ८५ हजार एक रुपैयाँ खर्च तथा सात लाख ७० हजार आम्दानी हुने अनुमान गरिएको सो प्रतियोगितामा ३० टीमको सहभागिता रहने प्रतियोगिता संयोजक डीबी नेपालीले जानकारी दिए।
शर्मिला शेरचन प्रमुख संरक्षक तथा नरबहादुर शेरचन र चेतन कार्की संरक्षकमा रहेको प्रतिष्ठानले प्रतियोगिता सम्पन्न गर्न डीबी नेपाली संयोजक तथा प्रदीप गौचन उपसंयोजक रहेको  मूल आयोजक समिति र विभिन्न १२ वटा उपसमिति गठन गरेको छ।
समापनको अवसरमा समग्र कास्की जिल्ला प्रतिनिधित्व गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी भई देशकै गरिमा बढाउन सफल पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक डम्बरसिंह गुरुङलाई सम्मान गरिने भएको छ।
कास्की जिल्ला फुटबल सङ्घका भूपू अध्यक्ष खेमबहादुर गुरुङको संयोजकत्वमा रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठ र नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपाने सदस्य रहेको तीन सदस्यीय प्रतिभा छनौट समितिले गरेको सिफारिसलाई प्रतिष्ठानको कार्यसमिति बैठकले अनुमोदन गरेको थियो।
ब्रिटिश गोर्खामा हुँदै सन् १९७४ मा कोरियन प्रशिक्षक च्यानको प्रशिक्षकत्वमा थाइल्याण्डको रजाधानी बैंकक र १९८२ मा जर्मन प्रशिक्षक रुडीको प्रशिक्षकत्वमा भारतको राजधानी नयाँदिल्लीमा भएको अन्तर्राष्ट्रिय खेलमा नेपाली राष्ट्रिय टीमबाट प्लेमेकरको भूमिकामा खेलेका गुरुङले कुनै समय आरसिटीबाट फरवार्डको भूमिका निर्वाह गरेका थिए।
ब्रिटिश आर्मीका रिटायर्ड आर्मी गुरुङ एन्फा यु–१४, यु–१६, आर्मी, एपीएफजस्ता ए डिभिजनका क्लबमा प्रशिक्षक भएका थिए। सहारा क्लबमा करिब छ वर्ष निःशुल्क प्रशिक्षण दिएका थिए।
सन् १९८२ मै ब्रिटिश गोर्खा टीमबाट एन्फा कप पनि खेलेका उनी हाल सबै क्षेत्रबाट बिदा लिएर पोखरामै आराम गरिहेका छन्। उनलाई माघ २४ गतेको समापन कार्यक्रम नगद २५ हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरिने पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष क्या. पूर्णबहादुर गुरुङ ह्योल्मोले जानकारी दिए।
खेलकुद, कला र शिक्षा क्षेत्रमा महŒवपूर्ण योगदान पु¥याएका कल्याण शेरचनको स्मृतिमा प्रतिष्ठानले प्रत्येक वर्ष पालैपालो तीन विधामा उत्कृष्ट प्रतिभा छनौट गरी सम्मान गर्दै आएको छ। गत वर्ष कलाकार भैरवबहादुर थापालाई सम्मान गरिएको थियो।
प्रतिष्ठानका अध्यक्ष क्या. पूर्णबहादुर गुरुङ ह्योल्मोको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार महेश गुरुङ, दीपेन्द्र श्रेष्ठ, प्रतियोगिता संयोजक डीबी नेपालीले मन्तव्य राखेका थिए।

Comment