कास्की जिल्ला तेक्वान्दो सङ्घलाई कम्प्युटर र किकप्याड प्रदान
कोरियाबाट आएको ग्लोबल भोलिण्टियर टीमले कास्की जिल्ला तेक्वान्दो टीमलाई एक थान कम्प्युटर र पाँच थान किकप्याड प्रदान गरेको छ।
बुधबार पोखरामा आयोजित एक कार्यक्रममा स्टुडेन्ट एफेयर्स युनिभर्सिटी अफ सोउलका अध्यक्ष ओ यु सङले नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय सदस्य एवं एसियन तेक्वान्दो युनियनका सल्लाहकार मदन केसीमार्फत सो सामग्री प्रदान गरेका हुन्।
सो अवसरमा उनले कास्की जिल्ला तेक्वान्दो सङ्घलाई सानै भए पनि सहयोग गर्न पाएकोमा आफूहरू निक्कै भाग्यमानी रहेको बताए। उनले आगामी दिनमा पनि सङ्घलाई सहयोग गर्ने बचन दिए।सो अवसरमा स्टुडेन्ट एफेयर्स युनिभर्सिटी अफ सोउलका विभागीय प्रमुख छो वोक योन, स्टाफ ह्वाङ, म्योङ मिनको उपस्थिति रहेको थियो। सोही युनिभर्सिटीकै प्राध्यापक डा. तुलसीराम भुसालले दोभाषेको भूमिका निर्वाह गरेका थिए।
प्रमुख अतिथि पोखरा उप–महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलले पोखराको विकासमा कोरियाले गर्दै आएको सहयोगको सह्राना गरे।
स्टुडेन्ट एफेयर्स युनिभर्सिटी अफ सोउलका अध्यक्ष ओ यु सङको नेतृत्वमा नेपाल आएको २४ सदस्यीय टीमले नेपालका ग्रामीण भेकका विद्यालयलाई भौतिक पूर्वाधार निर्माण तथा छात्रवृत्ति सहयोग गर्दै आएको छ।
नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय सदस्य एवं एसियन तेक्वान्दो युनियनका सल्लाहकार मदन केसीको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घका सल्लाहकार योगेन्द्र बस्नेतले स्वागत मन्तव्य र सचिव प्रेमनारायण न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए।
