इंग्ल्यान्ड  विश्वकप सेमिफाइनलमा 

Manoj Shiama
25 February, 2026 6:58 am

इंग्ल्यान्ड आइसिसी टी–२० विश्वकप २०२६ को सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ । मङ्गलवार को खेलमा पाकिस्तानलाई दुई विकेटले हराउँदै सुपर आठको एक खेल अगाडि नै इंग्ल्यान्ड सेमिफाइनल पुगेको हो ।

सो खेलमा इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले शतक प्रहार गरे । उनको शतक नै जितको मुख्य आधार बन्यो । उनले ५१ बलको सामना गर्दै सय रन पूरा गरेका हुन्। पाकिस्तानले दिएको १६५ रनको लक्ष्य इंग्ल्यान्डले ब्रुकको शतकको मद्दतमा ५ बल बाँकी हुँदा १९ ओभर १ बलमा १६६ रन बनाउँदै पूरा गरेको हो ।

इंग्ल्यान्डलाई रोक्न पाकिस्तानका लागि सहिन शाह अफ्रिदीले ४ विकेट हात पार्दा नवाज र तारिकले समान दुई दुई विकेट लिए ।

टस जितेर सुरुमा ब्याटिङ गरेको पाकिस्तानका लागि साहिबजादा फरानले अर्धशतकीय इनिङ खेले । उनले ४५ बलको सामना गरेर ६३ रन बनाएका हुन् । फखर जमानले र बाबर अजामले समान २५–२५ रन बनाए ।

यो जितसँगै इंग्ल्यान्ड पाँचौँ पटक विश्वकपको सेमिफाइनल पुगेको छ । एक खेल अगाडि सेमिफाइनल पुगेको इंग्ल्यान्डले सुपर आठको अन्तिम खेलमा शुक्रवार न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।