बर्षा र रोहितलाई स्वर्ण 

बर्षा साउद र रोहित राईले प्रथम एपीएफ अन्तर्राष्ट्रिय सोतो कराँते प्रतियोगितामा शुक्रवार स्वर्ण जितेका छन् । हलचौक स्थित एपीएफको कभर्डहलमा भएको महिला एकल कातामा आयोजक एपीएफ बी की बर्षाले प्रदेश १ की रोश्ना राईलाई ४–१ को अन्तरमा हराईन् । महिला एकल कातामै सेमिफाईनलमा पराजित नेपाली सेनाकी संगिता मगर र प्रदेश ५ की रश्मी पाण्डे संयुक्त रुपमा तेश्रो भए । पुरुष एकल काताको उपाधि भिड्न्तमा प्रदेश १ का रोहितले एपीएफका गुगिराम घलेलाई ३–२ को आधारमा हराउदै स्वर्ण हात पारे । पुरुष एकल कातामा सेमिफाईनलमा पराजित भएका नेपाली सेनाका डम्बर आलेमगर र प्रदेश ४ का शेरवहादुर धानुक सयुक्त रुपमा तेश्रो भए । काताको महिला तथा पुरुष दुवै समूहमा नेपाली सेनाले बाँजी मारेको छ । उसले महिला तथा पुरुष दुबै तर्फको उपाधि भिड्न्तमा प्रदेश ४ लाई हराउदै स्वर्ण जित्न सफल भएको थियो । महिलातर्फ प्रदेश ६ र प्रदेश १ ले तेश्रो स्थान हात पार्दा पुरुषतर्फ प्रदेश १ र प्रदेश ५ ले कास्य जिते ।
युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्माले उद्घाटन गरेको प्रतियोगिताको महिला कुमुतेको ४५ केजी तौल समूहमा नेपाली सेनाकी कुसुम खड्का,एपीएफ बी की बर्षा बुढामगर र भुटानकी दिपा तामाङले सेमिफाईनलमा स्थान सुरक्षित राखेका छन् । पुरुष कुमुतेको ६७ केजी तौल समूहमा एपीएफ बी का नबिन रसाईली सेमिफाईनलमा स्थान सुरक्षित गरेका छन् । उनले क्वाटर फाईनलमा प्रदेश १ का रुरिहाङ राईलाई ९–८ अंकको आधारमा हराएका थिए ।नबिन एसियाडमा छनोट भएका खेलाडी हुन् ।
शसस्त्र प्रहरी बल एपीएफ र नेश्नल सोतो कराँते डो एशोसियसनको आयोजनामा संचालन भएको दुई दिने प्रतियोगितामा भारत,पाकिस्तान,बंगलादेश,श्रीलंका,भुटान,जापान र नेपालका सात प्रदेश नेपाली सेना र एपीएफका दुई टिमले सहभागिता जनाएको छ । प्रतियोगितामा महिलातर्फ ८ स्वर्ण तथा पुरुषतर्फ ९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रत्येक स्पर्धाका स्वर्ण बिजेताले नगद १० हजार,रजत बिजेताले ५ हजार र कास्य बिजेताले ३ हजार प्राप्त गर्ने आयोजक संघका महासचिव फडिन्द्र ओझाले जानकारी गराएका छन् । प्रतियोगिताका उद्घाटनका अवसरमा रेफ्रीको तर्फबाट अन्तर्राष्ट्रिय रेफ्रि राजेन्द्र कपाली तथा खेलाडीको रुपमा गंगा अधिकारीले सपथ लिएका थिए ।
फोटो १ देखि ३ –प्रतियोगिताको उद्घाटन गदै मन्त्री बिश्वकर्मा । फोटो ४ र ५– पुरुष कुमुतेको ६७ केजी तौल समूहमा एपीएफ बी का नबिन रसाईली(रातो बेल्डमा) र प्रदेश १ का रुरिहाङ राई निलो बीचको खेल  । नबिन एसियाडमा छनोट भएका खेलाडी हुन् ।
Comment