रहेनन् मणि शाह


नेपाली फुटबलका चर्चित खेलाडी तथा पूर्व राष्ट्रिय फुटबल टीमका पूर्व कप्तान मणि शाहको निधन भएको छ । उनी ५१ वर्षका थिए । शाहको सोमबार अपरान्ह ५ बजेर ४२ मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
विगत केही वर्षदेखि कलेजोको समस्याले पीडित शाहको उपचार पहिलेदेखि नै नर्भिक अस्पतालमा चलिरहेको थियो । केही दिनअघि समस्या जटिल बनेपछि शाहलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । शाहको अवस्था नाजुक बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको बुझिएको छ ।

शाहले १७ बर्ष उमेरमा राष्ट्रिय फुटबल टीममा प्रबेश पाएका थिए । दोश्रो दक्षिण एसियाली खेलकुदमा डेब्यु गरेका शाहले बंगलादेशमा सम्पन्न छैठौं दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई फुटबलमा स्वर्ण पदक दिलाउन सफल भएका थिए । उक्त साफ गेममा नेपालले फुटबलमा मात्र एउटा स्वर्ण पदक जितेको थियो । जुन स्वर्ण पदक दिलाउन मणि शाहको विशेष योगदान रहेको थियो । उनले गरको फ्रि किक गोल नेपाली फुटबलमा सधै सस्मरणीय मानीन्छ ।

Comment