अन्तर्राष्ट्रिय कराते सुरु

नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो सामाखुशीको आयोजनामा चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
पहिलो दिन नेपाली खेलाडीबीच मात्र प्रतिस्पर्धा भयो । पुरुष ६० केजी तौलसमूहमा करण गुरुङ र सैलेश दनुवार तथा खुलामा सुमन तामाङ र निशान तामाङ सेमिफाइनलमा पुगे । महिला ४० केजीमा युनी महर्जन र विनिता चापागाईं तथा ४५ केजीमा सुमित्रा अधिकारी र वर्षा बुढा मगरले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
एकल काताको पुरुष सिनियरमा युरोदीश रोका र दीप राजवाहक तथा जुनियरमा करण बुढाथोकी र सुजन श्रेष्ठ सेमिफाइनलमा पुगे । एकल काताको जुनियर महिलामा सुष्मा पुन र स्मारिक ओझाले सेमिफाइनल यात्रा तय गरे ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे । शनिबारसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान र नाइजेरियाका ४ सय ६५ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरिहेको आयोजक डोजोका प्रमुख राजेन्द्रकुमार ओझाले जनाएका छन् ।
Comment