आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी सेमिफाईनलमा

तेश्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी सेमिफाईनलमा प्रवेश गरेको छ ।
बुटवलको रामनगर स्थित मानव ज्ञान माबिको मैदानमा भएको पहिलो क्वाटर फाईनल खेलमा आयोजकले नेपाल आर्मीलाई ३–१ गोल अन्तरले हरायो । आर्मीका बिवेक बस्नेतले १५ औं मिनेटमा गोल गदै टिमलाई अग्रता दिलाएका थिए । दोश्रो हाफमा आयोजकले खेलमा उत्कृष्ट प्रदर्शन गदै ३ गोल गर्न सफल भयो । आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका लागि म्यान अफ द म्याच बिदेशी खेलाडी म्याक्सले ६३ औं मिनेटमा हेड मार्फत गोल गदै टिमलाई १–१ को बराबरीमा ल्याए । म्याक्सले नै दोश्रो गोल गदै टिमलाई २–१ को अग्रता दिलाए । उनले हेड मार्फतनै ६७ औं मिनेटमा गोल गरेका थिए । आयोजकका लागि तेश्रो गोल बिदेशी खेलाडी अब्बाले ७६ औ मिनेटमा गरेका थिए ।
म्यान अफ द म्याच चुनिएका म्याक्सले १० हजार रुपैया पाए । पहिलो गोल गरेर पनि पराजय बेहोरेको आर्मीका प्रशिक्षक नविन न्यौपानेले पहिलो आफमा पाएको अवसरलाई नतिजामा परिणत गर्न नसक्दा हार्नु परेको प्रतिक्रिया दिए । उनले भने हामीले पहिलो गोल गरे पनि अन्य अवसरहरुलाई गोलमा परिणत गर्न सकेनौं ।
उत्कृष्ट कमब्याक गरेको आयोजक टिमका प्रशिक्षक सुन्दर थापाले पहिलो हाफमा मिस पासका कारण लय बिग्रिएको स्वीकार गदै भने– पहिलो हाफमा बिपक्षका उत्कृष्ट प्रहारहरु रोक्न सफल भयौं । हाम्रा केहि उत्कृष्ट प्रहार गोलमा परिणत भएनन् । दोश्रो हाफमा मनोबल उच्च बनाउदै डिफेन्स र याट्याक दुवैमा सुधार गर्यो ।
रेफ्रीले फाउल खेल बापत ७ जना खेलाडीलाई पहेलो कार्ड दिएका थिए । आर्मीका ५ खेलाडीले पहेलो कार्ड पाएका थिए । सन्तोष तामाङले ५१ औं मिनेट,सुमन अर्यालले ५२ औ मिनेट,दिनेश योञ्जनले ८२ औं मिनेट,आशिष शाक्यले ८४ औ मिनेट र बिकाश थापाले ९६ औं मिनेटमा पहेलो कार्ड पाएका थिए । आयोजकका म्याक्सले ६० औं मिनेट र अमिर तामाङले ८२ औं मिनेटमा पहेलो कार्ड पाएका थिए । प्रतियोगिता अन्तर्गत दोश्रो क्वाटर फाईनल खेल साबिक बिजेता सुनौलो संगम र एपीएफबीच मंगलवार हुनेछ ।

Comment